कोभिड–१९ को संक्रमणपछि खोप लगाएका मानिसमा निकै राम्रो रोगप्रतिरोधी क्षमता विकास हुने

हालै गरिएको एक अध्ययनले कोभिड–१९ को संक्रमणपछि खोप लगाएका मानिसमा निकै राम्रो रोगप्रतिरोधी क्षमता विकास हुने देखाएको छ । ओरेगन हेल्थ एण्ड साइन्स युनिभर्सिटीका वैज्ञानिकले गरेको नयाँ अध्ययनले कोभिड–१९ को संक्रमणपछि खोप लगाएका मानिसको शरीरमा सबैभन्दा राम्रो रोगप्रतिरोधी क्षमता (सुपर इम्युनिटी) विकास हुने देखाएको हो । त्यस्तै कोभिड संक्रमणपूर्व नै पूर्ण डोज लगाएका संक्रमितको शरीरमा समेत निकै राम्रो रोगप्रतिरोधी क्षमता हुने अध्ययनको निष्कर्ष छ । वैज्ञानिकहरूले अध्ययनका क्रममा २ पटक फाइजर खोप लगाएका १०४ जना मानिसको शरीरबाट रक्त नमूना लिएका थिए । रक्त नमूना लिएका मानिसमध्ये ४२ जनालाई कहिल्यै कोभिड–१९ को संक्रमण भएको थिएन भने ३१ जनाले संक्रमणपछि खोप लगाएका थिए । त्यस्तै, खोप लगाएपछि संक्रमित हुनेको संख्या पनि ३१ नै थियो । वैज्ञानिकहरूले ती सबै नमूनामा कोभिड–१९ को अल्फा, बिटा र डेल्टा भेरियन्ट मिसाएका थिए। अध्ययनपछि खोप र प्राकृतिक इम्युनिटीको समिश्रणबाट विकास हुने एन्टिबडी खोपबाट मात्रै विकास हुने इम्युनिटीभन्दा १० गुणा प्रभावकारी हुने पाइएको थियो। यही तथ्यबाटै वैज्ञानिकहरूले खोप लगाउनुअघि संक्रमण भएका मानिसमा रोगप्रतिरोधी क्षमताको मात्रा र गुणस्तर अत्यधिक बढ्ने निष्कर्ष निकालेका हुन् । टाफेसीका अनुसार कोरोना भाइरस व्यापक फैलिएको हुँदा खोप लगाएपछि समेत संक्रमित हुने संभावना उच्च हुन्छ । तर यसैका कारण सामान्य संक्रमण हुने र यसैबाट सुपर इम्युनिटी प्राप्त हुने पनि उनको भनाइ छ । यसबाहेक, साइन्स इम्युनोलोजी नामक म्यागजिनमा मंलगबार प्रकाशित सो अध्ययनमा खोप लगाएपछि विकास हुने एन्टिबडीमा उमेरले नकारात्मक असर पार्ने भए पनि इम्युनिटीको मात्रा र उमेरबीच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिएको छ । त्यस्तै उक्त अध्ययनको निष्कर्षले खोप लगाएपछि हुने नयाँ संक्रमणकै कारण महामारी अन्त्यतर्फ अग्रसर हुन सक्ने समेत औंल्याएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.