ओमिक्रोन भेरियन्ट र यसका उपप्रजातिहरुका कारण कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको छ । हरेक दिन केही सयको संख्यामा नयँ संक्रमित थपिने गरेका छन् । नयँ संक्रमितमा बालबालिका समेत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शनिबार थपिएका ३३५ जना संक्रमितमा ७ जना १० वर्ष मुनिका बालकालिका थिए भने ११ देखि २० वर्षका १९ जना थिए । मन्त्रालयका अनुसार साउन पहिलो साता मात्र २० वर्ष मुनिका १४८ जनामा संक्रमित भएका छन् ।
बालबालिका पनि संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालयमा पनि मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन पनि संक्रमण फैलाउने माध्यम विद्यालय बन्ने तर्फ सतर्क हुनुपर्ने बताउछन् ।
उनका अनुसार अहिले सम्मको तथ्यांक हेर्दा बालबालिका कोभिड बाट प्रभावित भएपनि मानवीय क्षति कम छ । तर बालबालिकाको माध्यम बाट संक्रमण फैलिन सक्ने भन्दै उनले भने, ‘ललितपुरको विद्यार्थी काठमाडौं र काठमाडौंको बालबालिका भक्तपुर पढ्न जाने अवस्था छ । त्यसैले बालबालिका संक्रमण सार्ने माध्यम बन्ने जोखिम रहि रहन्छ ।’
कति बालबालिकाले लगाए खोप ?
सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकालाई लक्षित खोप अभियान चलाएको छ ।
यो उमेर समूहमा ३७ लाख ८९ हजार ३९८ बालबालिका छन् । तर सरकारले भने २७ जिल्लाका २१ लाख ५३ हजार २७४ बालबालिकालाई दोस्रो मात्राको खोप दिने क्रम चलिरहेको छ । बढी जनघनत्व भएको क्षेत्रका बालबालिकालाई प्राथमिकतामा राखेर खोप दिइरहेको परिवार कल्याण महाशाखाको बाल तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार बाकी ५० जिल्लाका १६ लाख ३६ हजार १२४ बालबालिकालाई भने भदौमा मात्र खोप दिने योजना छ । यसका लागि खोप जोहो गर्ने काम भइरहेको छ । खोप आउने सुुनिश्चतता भइसकेको परिवार कल्याण महाशाखा प्रमुख डा.विवेक कर्ण दास बताउछन् ।
खोप तथा सिरिन्ज अगष्टको पहिलो साता आए भदौ ५ गते देखि खोप अभियान सुरु हुनेछ । जनघनत्व बढी भएको क्षेत्रमा खोप अभियान चलिरहेको र बाकी रहेका अधिकांश जिल्लामा वर्षे विदा चलिरहेकाले कोरोनाको जोखिम कम रहेको डा. दास बताउछन् ।
बुस्टर डोज खुला
परिवार कल्याण महाशाखा प्रमुख डा. दासका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख २५ हजार बालबालिकाले दुबै डोज लगाइ सकेका छन । उनीहरुका लागि बुस्टर डोज समेत दिन थालिएको छ । तर जम्मा २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । डा. दास भन्छन्, ‘बुस्टर डोज छ लगाउनुहोस् भन्दा पनि लगाइ रहेका छैनन् ।’
खोप लगाएकाहरुमा संक्रमण कम हुने र संक्रमित भएपनि गम्भीरता अत्यन्तै कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउन उनी आग्रह गर्छन् । उनी भन्छन्, ‘आफ्नो लागि मात्र नभएर सामुदायको सुरक्षाका लागि पनि बुस्टर डोज लगाउन अनुरोध गर्न चाहन्छु ।’
Comments are closed.