पछिल्लो दुई दिन देखि परेको सामान्य वर्षाले कैलाली र कञ्चनपुरका धेरै स्थानमा डुबानको समस्या भएको छ । धनगढी र महेन्द्रनगर बजार क्षेत्र पनि जलमग्न भएको छ । यस्तो अवस्थामा तीनै तहका सरकारका बीच एक अर्कालाई आदेश दिने बाहेक योजनावद्ध रूपमा काम गर्न समन्वय भएको छैन । कैलालीको दक्षिण पूर्व उत्तर क्षेत्र वर्षा याममा डुबानमा पर्दै आएको छ ।
मुख्य नदी मोहना, कान्ध्रा र कर्णालीमा आउने बाढीले जिल्लाको पूर्वोत्तर क्षेत्र डुबानमा पर्दै आएको हो । त्यसका लागि जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना (डीपी आर पी) नै निर्माण गरेर कार्यान्वयनमा ल्याएको कैलाली प्रशासनले जनाएको छ । कैलाली बाढीको दृष्टिकोण बाट बढी जोखिममा रहेकोले विपद्को लागि मनसुन पूर्व तयारी प्रतिकार्य योजनाका लागि कार्यविधि बनाएर काम गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता यज्ञराज जोशीले बताउनु भयो ।
कैलालीको बाढीग्रस्त क्षेत्रमा विपद् व्यवस्थापनको पूर्व तयारी गरिएको दाबी छ । उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको परिचालन टोली तयारी अवस्थामा राखिएको छ । जिल्लाको चुरे र मोहन्याल गाउपालिकामा पहिरोको जोखिम क्षेत्रको पहिचान र तराईका भजनी, कैलारी, टीकापुर लगायत पूर्वोत्तर क्षेत्रमा बढी बाढीग्रस्त क्षेत्र पहिचान गरिएको छ ।
कैलाली संगै कञ्चनपुरका मुख्य नदीमा पानीको बहाव नाप्न गेज मिटर राखिएको छ । महाकाली नदी किनारको तटीय क्षेत्रलाई बाढी बाट जोगाउन दार्चुलाको दत्तु, डडेल्धुराको परशुराममा समेत गेज मिटर राखिएको हो । जसले नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जानकारी दिने गरिएको छ । विपद्का लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तयार अवस्थामा रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक गोपाल प्रसाद अर्यालले बताउनु भयो ।