महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय भन्सार छलीका सामानहरु बरामद गर्ने क्रम बढेको छ । कञ्चनपुरमा भन्सार छलीका सामानहरु बरामद गर्ने क्रम बढेसंगै राज्यलाई करोडौको राजश्व पनि आम्दानी भएको छ । कञ्चनपुर भन्सार कार्यालयमा भन्सार छली बेवारिसे सामानहरु बरामद बढेपछि राजश्वमा बढोत्तरी भएको हो ।
पछिल्लो समय कञ्चनपुर प्रहरीले भन्सार छलीका सामान र बेवारिसे फेला पर्ने सामानहरुलाई जफत गर्न झनै सक्रियता बढाएपछि धमाधम फेला परेको उक्त सामग्रीहरुबाट राजश्व बढेको हो । गाएको आर्थिक वर्षमा मात्रै प्रहरीले दुई करोड २१ लाख ३४ हजार ७ सय ९८ रुपैयाँ बराबरका विभिन्न अवैध सामान बरामद गरेर भन्सार कार्यालय चलान गरेको छ ।
यस्तै, भारतबाट भन्सार छली गरी भित्रिएको ठूलो मात्रामा अवैध चिनी खाद्यान्न, कपडा र प्रतिबन्धित माछासहितको से. १ च १२२९ नम्बरको बोलेरो पिकअप जीप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ नौरंगाबाट चिनीसहितको बोलेरो जीप नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुर गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाबाट खटिएको गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको करिब १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको हो ।
कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने बर्ष ३० का जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारी बस्ने १९ वर्षीय सहचालक बिशाल बडायकलाई नियन्त्रणमा लिईएको छ । उता, जिल्लाको सीमावर्ती ईलाकाबाट किराना सामान, खाद्यान्न, कपडा र प्रतिबन्धित माछा बरामद गरेको छ । कञ्चनपुर तथा मातहत ईकाईहरुबाट पाँच लाख भन्दा बढीको अबैध सामानहरु बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।
Comments are closed.