कञ्चनपुरमा शिक्षक आन्दोलित, शिक्षक कुटपिटमा संलग्न ६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरू सोमवारदेखि अनिश्चितकालका लागि बन्द गरेर शिक्षकहरू आन्दोलित छन् । सोमवार शिक्षकहरुले महेन्द्रनगर बजारमा र्याली निकाली जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । आईतवार पत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासंघ पालिका स्तरिय आन्दोलन परिचालन समितिले सोमवारदेखी जिल्लामा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिश्चितकालिन पठनपाठन बन्द हुने जानकारी दिईएको थियो ।

सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि एक साताअघि कुटपिट भएको घटनालाई लिएर सोमबार भीमदत्तका सबै शिक्षण संस्था बन्द गरेको जिल्ला स्तरिय आन्दोलन संचालक समिती संयोजक विरेन्द्र सिंह भण्डारीले जानकारी दिएका छन् । बन्दले विद्यार्थीको पढाई प्रभावित बनेको छ । आज (सोमबार) साँझसम्म माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गरिने जिल्लास्तरीय आन्दोलन परिचालन समितिले जनाएको छ ।

प्रहरीको हतकडीदेखि प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट भएको भन्दै घटनामा सलग्नमाथि कार्बाहीका लागी उच्च स्तरिय छानबिन टोलीको गठन हुनुपर्ने, शिक्षकलाई पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बीत गरी कारवाही हुनुपर्ने, शिक्षकको उपचार सम्पूर्ण खर्च सरकारले व्योहोर्नु पर्ने लगायतका माग रहेको संयोजक भण्डारीले जानकारी दिएका छन् ।

शिक्षकमाथि अमानविय रुपमा गरिएको कुटपिटको भत्र्सना गर्दै शिक्षा क्षेत्रमा भएको अमानविय ज्यादती भएको र आरोप प्रत्यारोप, प्रपञ्च रची भएको अमानविय घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने उनले बताए । भदौमा ३ गते भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा किटानी जाहेरीमा परेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जाहेरीमा परेका मनिष विष्ट र दीपक भण्डारीलाई पक्राउ गरिएको बताए ।

यसअघि किटानी जाहेरीमा नाम उल्लेख भएका नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको थियो । जाहेरीमा परेका करन मल्ल र मनोज तिरुवा भने फरार रहेका छन् । प्रहरीको नियन्त्रणमै जोशीमाथि कुटपिट भएको घटनाको उच्चस्तरीय छानबिन टोली गठन गरी अनुसन्धान गर्नुपर्ने, जोशीलाई विद्यालय हाताभित्रबाट पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बित गरी कारबाही हुनुपर्ने, जोशीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्नु पर्ने लगायतका माग महासंघले अघि सारेको छ ।

गत साताको आइतबार सिद्धनाथ माविका लेखापाल जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सोही विद्यालयका विद्यार्थी, अभिभावक र स्थानीय आन्दोलित भएका थिए । त्यस क्रममा प्रहरीले लेखापाल जोशीलाई नियन्त्रणमा लिएकै अवस्थामा उक्त भिडले विद्यालय हाताभित्रै जोशीमाथि आक्रमण गरेको थियो। निर्घात कुटपिटबाट घाइते लेखापाल जोशीको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सम्बन्धित

Comments are closed.