वनपैदावार र वन्यजन्तुको तस्करी रोक्नका लागि २४औं घण्टा गस्ती गरिने
वनपैदावार र वन्यजन्तुको तस्करी रोक्नका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले २४औं घण्टा गस्ती गर्ने
सरकारले लागू गरेको लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्नका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले २४औं घण्टा गस्ती गर्ने भएको छ । कार्यालय मातहतका छ वटै सव डिभिजन वन कार्यालयमार्फत जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरी सिकारी र तस्करी रोक्नका लागि गस्ती र अनुगमनको कार्यलाई अगाडी बढाएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको हो । लकडाउनको अवधिमा जिल्लाका विभिन्न क्षेत्रबाट एक सय ५० घनमिटर सालका गोलीया, पाँच वटा गोरुगाडा, एउटा मोटरसाइकल तथा दुईरदुई वटा मृत बदेल र चितलसहित तीन जना तस्करलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताउनु भयो । उहाका अनुसार प्रहरीसँगको सहकार्यमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरी वन ऐन २०७६ र प्रचलित कानून बमोजिम अनुसन्धान भइरहेको तथा सो कार्यमा संलग्न अभियुक्तको खोजतलास भइरहेको छ । बस्तीमा छिरेका एउटा चितललाई स्थानीयवासीले जिउँदै उद्धार गरी प्राकृतिक बासस्थानम छाडिएको पनि उहाले बताउनु भयो । वनपैदावार तथा वन्यजन्तुको तस्करीमा संलग्नलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम थप सजायको व्यवस्था रहेको बताउदै उहाले लकडाउनको उल्लङ्घन गरी काठ र वन्यजन्तुको तस्करीमा संलग्न हुनेलाई हदै सम्मको कारवाही हुने बताउनु भयो । वनपैदावार चोरीतस्करीमा संलग्न हुनेलाई लकडाउन समाप्त भएको अर्को दिन कार्यालयमा बुझाउने गरी जनप्रतिनिधिको जिम्मा लगाइएको पनि उहाले बताउनु भयो । काठ तस्करीका लागि जिल्लाको दक्षिणी क्षेत्र बढी सम्वेदनशील देखिएको छ भने वन्यजन्तुको चोरी सिकारीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग जोडिएका सामुदायिक वन बढी सम्वेदनशील रहेका छन् । यस्ता सम्वेदनशील क्षेत्रमा निगरानी बढाएको उहाले बताउनु भयो । वन कर्मचारी, सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई वन र वन्यजन्तु संरक्षणका लागि सजग र सतर्क अवस्थामा राखिएको छ । वन क्षेत्रमा हुन सक्ने आगलागीका घटना रोक्नका लागि पनि अग्नी नियन्त्रक दललाई सक्रिय पारिएको छ ।
Comments are closed.