म्याद गुज्रेका औषधि जफत
महेन्द्रनगर, ३० बैशाख
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भीमदत्त नगरपालिकाको बसपार्क्स्थित भरोसा (कम्युनिटी हेल्थ) मेडिकलका म्याद गुज्रेका औषधि जफत गरेको छ । म्याद गुज्रेका औषधि जफत गरी सञ्चालकलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्र्रसाद उपध्यायले जानकारी दिनु भयो । पहिलोपटकका लागि म्याद गुज्रेका औषधि फेला परेपछि सचेत गराइ छाडिएको बताउदै उहाले दोस्रोपटक फेला परे कानूनअनुसार कारवाही गरिने बताउनु भयो । बजार क्षेत्रमा मुख्य किराना पसल, थोक बिक्रेता, आलु गोदाम, एग्रोभेट र मेडिकल स्टोरमा अनुगमनको कार्य गरेको छ । किराना र होलसेल पसलमा मूल्यसूची नराखेको पाइएको र मूल्यसूची राखेका पसलहरुले समेत मूल्य अद्यावधिक नगरी राखेको पाइएपछि पसल सञ्चालकलाई सचेत गराइएको छ । बन्दाबन्दीअघि म्याद गुज्रेका सामानलाई नष्ट गराउन लगाउने कार्यसँगै अनुगमन टोलीले बन्दाबन्दी शुरु भएपछि म्याद गुज्रेका सामानलाई अलग्गै राख्न निर्देशन दिइएको छ । पसलमा सामाजिक दूरी कामयम गर्न सचेत पारिएको छ । ग्राहक तथा उपभोक्ताबाट सामाजिक सञ्चाल तथा जिल्ला प्रशासन कार्यालयको टेलिफोनमा ठगिएको गुनासो आएपछि अनुगमनको कार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको नेतृत्वमा भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय तथा कृषि ज्ञान केन्द्रलगायतको टोलीले बिहान छदेखि आठ बजेसम्म अनुगमन गरेको बताइएको छ ।
Comments are closed.