धनगढी, ३० बैशाख
सुदूरपश्चिमका सबै अस्पतालमा मंगलवारदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारू भएको छ । लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरूले आज मंगलवारदेखि ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारू गरेका हुन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै अस्पतालहरूलाई ओपीडी सेवा सुचारू गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरू सुचारू भएका जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताउनु भयो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, प्रदेश सरकार मातहत सञ्चालित, स्थानीय तह अन्तर्गत सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालहरूलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न लिखित निर्देशन गरेको थियो । यसअघि प्रदेश सरकारले चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । सुदूरपश्चिमका सबै संक्रमितहरू उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमित समेत नदेखिएपछि अस्पतालले सेवा पुनः सञ्चालन गरेको जनाएका छन् । ओपिडी मात्रै नभएर अस्पतालबाट प्रदान हुने नियमित सेवा सावधानी र्पुयाएर सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना संक्रमण देखिएपनि सबै उपचारपछि डिस्चार्ज भइसेकका छन् । सुदूरपश्चिमा कोरोना जोखिम कम भएसँगै सरकारी अस्पतालहरुले पनि ओपिडी सञ्चालन गरे पछि अहिले बिरामीहरु उपचारका लागी अस्पताल धाउन थालेका छन । सुदूरपश्चिममा कोरोना संक्रमित देखिए सँगै सेती प्रादेशिक अस्पतालको इमरजेन्सीबाहेकको अरु सेवा बन्दगरी कोरोना अस्पताल बनाइएको थियो । तर अस्पतालमा उपचाररत पाँच जनै संक्रमितहरु निकोभएर घरफर्किए सँगै अस्पतालमा ओपिडी लगायतका सबै सेवाहरु सुचारु भएसँगै बिरामीहरु हर्षित भइरहेको अस्पतालमा सेवा लिन पुग्नु भएका समिर जोशीले बताउनुभयो । सुदूरपश्चिमको एक मात्र रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको एक मात्र बिशेषज्ञसेवा सहितको अस्पताल हो । यहाँ प्रदेशका ९ वटै जिल्लाका साथै अन्य प्रदेशबाट पनि उपचारका लागी बिरामीहरु आउने गरेका छन । प्रादेशिक अस्पतालमा पनि ओपिडी लगायतका अन्य सेवाहरु सुचारु भइसकेका छन । सामाजिक दुरी कायमगरी व्यवस्थीत तरीकाले सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट,हेमराज पाण्डेले बताउनुु भयो ।
शुक्लाफाँटा खबर
6818 posts
Comments are closed.