महेन्द्रनगर । कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि विभिन्न पालिकामा गएर आर्थिक सहयोगका लागि माग गरीरहेका छन् । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ ।
कञ्चनपुरमा सुर्खेत देखी दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटेहरु पुगेका छन् । आईतवार भीमदत्त नगरपालिकामा ३ जना राउटेहरु आर्थिक सहयोग, खाद्यन्नको माग राख्दै आफनो पिडा सुनाउन पुगेका छन् ।
प्रकाश शाही सबै भन्दा जेठा, त्यसपछि प्रेम शाही अनी कान्छो खकेन्द्र शाही महेन्द्रनगर पुगेका हुन् । महेन्द्रनगर पुग्नु भन्दा पहिला उनिहरु टिकापुर नगरपालिका, लम्की नगरपालिकामा पनि पुगेर आफनो लागि आर्थिक सहयोग, खाद्यन्न मागेको प्रकाश शाहीले बताउनु भयो ।
अहिले खाद्यन्न भन्दा पनि आर्थिक सहयोग गरीदिन उनिहरुले माग गरेका छन् । लम्की र टिकापुरमा आर्थिक सहयोग गरेको बताउँदै प्रकाश शाहीले भीमदत्त नगरपालिकाबाट पनि आर्थिकको माग गरेका छन् ।
“खाद्यन्न यताबाट बोकेर सुर्खेत पुय्राउन सकिँदैन, बरु नगद सहयोग भयो भने साह्रै राम्रो, सबै कर्मचारीहरुले सहयोग गरे पनि हुन्छ” प्रकाश शाहीले भन्नु भयो, “अब सुर्खेत फर्किदा गाडीमा जानु पर्छ, त्यसमा पनि पैसा चाहिन्छ, बरु सबैले पैसा नै सहयोग गरौ” कुनै समय पैसालाई छुनु हुँदैन पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय अहिले पालिकामा पुगेर आर्थिक सहयोगका लागि माग गरी रहेको देख्दा भीमदत्त नगरपालिका ४ का ७० वर्षिय टेकबहादुर धामीले बताउनु भयो ।
पहिला आफुले देखेको राउटे र अहिलेका राउटेमा धेरै फरकपन आएको उहाँले बताउनु भयो । यता भीमदत्त नगरपालिकाले उनिहरुलाई २ कट्टा चामल १० केजी दाल, तरकारीहरु उपलब्ध गराएको नगर प्रमुख पदम बोगटीको सचिवालयले जनाएको छ ।
आफ्नै श्रममा बाँच्ने राउटेलाई आजभोलि कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । सरकारले प्रत्येक वर्ष राउटेलाई सामाजिक सुरक्षा भत्ता दिन्छ तर भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् । आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ ।
कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ । आफ्नो परम्परामा कडा देखिए पनि आधुनिकतासँगै राउटे समुदाय पनि आधुनिकतामा रमाउन थालेको छ । राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ ।
“हाम्रो मुख्य सिकार बाँदर र गुना जङ्गलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गर्छौ,” प्रेम शाहीले भन्नुभयो । खसी र चामल पाएमा हुरुक्क हुने र अरूले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय पछिल्लो पटक मद्यपान, धूमपानको कुलतमा फस्न थालेको छ ।
फिरन्ते जीवन बिताउने राउटेहरु एक ठाउँ धेरै नबस्नुमा बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्ने संस्कारले गर्दा एकै ठाउँमा नबस्ने राउटेको चलन हो ।
Comments are closed.