३१ वर्षपछि आलितालका नागरिकले पाए लालपुर्जा

भक्त मगर

महेन्द्रनगर । लामो प्रतीक्षापछि डडेल्धुराको आलिताल गाउँपालिका–५ का नागरिकले ३१ वर्षपछि लालपुर्जा ९जग्गाधनी प्रमाणपूर्जा० हातमा पाएका छन्।
भूमि समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराले सूचीबद्ध गरेका १ सय २० जना अव्यवस्थित बसोबासीलाई मंगलबार गाउँपालिकाको सभाहलमा विशेष कार्यक्रममार्फत प्रमाणपूर्जा हस्तान्तरण गरिएको हो। लालपुर्जा पाएपछि स्थानीयले आफ्नो संघर्ष र प्रतीक्षा समाप्त भएको भन्दै खुसी व्यक्त गरेका छन्। “३१ वर्षदेखि कानूनी कागज नपाउँदा धेरै अप्ठ्यारो थियो, अब वास्तविक जमिनधनी भएको महसुस भयो,” लाभग्राही गौरीलाल खत्रीले भने। उनले विगतमा सरकारले पटक–पटक आश्वासन दिए पनि व्यवहारमा लालपुर्जा नपाउँदा निकै समस्या भोग्नु परेको अनुभव सुनाए।
२०५१र५२ सालमै नापी भए पनि लालपुर्जा वितरण नहुँदा गाउँलेहरूले जमिन धितो राखेर ऋण लिन, कानुनी प्रक्रियामा प्रमाण प्रस्तुत गर्न र विभिन्न विकास योजनामा सहभागी हुन कठिनाइ हुँदै आएको थियो। अब भने कानूनी अधिकार स्थापित भएपछि आर्थिक गतिविधि र लगानीमा सहज हुने अपेक्षा गरिएको स्थानीय कलिभान बिष्टले बताए।
आयोगका डडेल्धुरा जिल्ला अध्यक्ष कैलासकुमार पाण्डेयले लालपुर्जा वितरणले नागरिकको अधिकार प्रत्याभूत गर्न सहयोग पुग्ने बताए। उनले बाँकी वडाहरूमा पनि क्रमशः वितरण अघि बढाइने जानकारी दिँदै हालको ‘जेनजी आन्दोलन’ पछि आयोगको भविष्य अनिश्चित भएको चिन्ता समेत व्यक्त गरे।
जिल्लाका अन्य स्थानका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने कार्य अझै बाँकी रहेकाले निरन्तरता दिन कठिनाइ हुने उनको भनाइ छ।

सम्बन्धित

Comments are closed.