महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ८५ वर्षीया ज्येष्ठ नागरिक जयमति नेगीले विषालु करेत सर्पको टोकाइपछि मृत्युसँग गरेको कठिन संघर्षमा सफलता प्राप्त गर्नुभएको छ।सर्पको टोकाइबाट गम्भीर बिरामी भई महाकाली प्रादेशिक अस्पतालमा उपचाररत नेगी ११ दिनको उपचारपछि निको भएर आइतबार, कात्तिक ८ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले जानकारी दिनु भयो । ।

उहाँले भन्नुभयो, घटना २०८३ असोज २८ गते रातिको हो। घरमा सुतिरहेको अवस्थामा नेगीलाई घाँटीमा विषालु करेत सर्पले टोकेको थियो। सर्पले टोकेपछि पनि उहाँले हिम्मत नहारी सर्पलाई हातैले समातेर फाल्ने प्रयास गर्नुभएको थियो। सर्पले फेरि टोक्दा पनि उहाँले त्यसलाई समातेर लुछ्दै फाल्न सफल हुनुभएको छ।
घटनापछि परिवारका सदस्यहरूले सर्पलाई प्लास्टिकको कट्टामा राखेर नेगीलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पुर्याएका थिए। विषालु सर्पको टोकाइबाट गम्भीर अवस्थामा अस्पताल पुग्नुभएकी नेगीलाई चिकित्सकहरूले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार सुरु गरेका थिए। उहाँलाई भेन्टिलेटरको सहायतासमेत आवश्यक परेको थियो।
८५ वर्षको उमेरमा विषालु करेत सर्पको टोकाइबाट गम्भीर अवस्थामा पुग्नुभएकी नेगीका लागि उपचारका ती ११ दिन निकै चुनौतीपूर्ण रहे। चिकित्सकहरूको निरन्तर निगरानी, उपचार र प्रयासपछि उहाँको स्वास्थ्यमा सुधार आएको हो। अन्ततः उहाँले मृत्युसँगको कठिन संघर्षलाई पार गर्दै नयाँ जीवन प्राप्त गर्नुभएको छ।
यस घटनामा परिवारले देखाएको तत्कालको सक्रियताले पनि विशेष महत्त्व राखेको छ। सर्पलाई अस्पतालसम्म ल्याइएकाले चिकित्सकहरूलाई सर्पको पहिचान गर्न सहयोग पुगेको थियो। सर्पको पहिचानले उपचारसम्बन्धी निर्णय लिन चिकित्सकलाई सहज बनाउन सक्ने भए पनि सर्पको टोकाइमा उपचारका लागि ढिलाइ नगर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ।
सर्पको टोकाइका घटना ग्रामीण क्षेत्रमा अझै पनि गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिने गरेका छन्। विशेषगरी रातिको समयमा सुतिरहेका बेला सर्पले टोक्ने जोखिम रहने भएकाले घरभित्रको सरसफाइ, सुत्ने स्थानको सुरक्षा र सर्पबाट बच्ने उपाय अपनाउनु आवश्यक हुन्छ।
सर्पले टोकेमा बिरामीलाई सकेसम्म शान्त राख्ने, टोकेको अंगको अनावश्यक चलायमानता कम गर्ने र तत्काल नजिकको सर्पदंश उपचार सेवा उपलब्ध स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ। सर्पलाई समात्ने वा मार्ने प्रयास गर्नु हुँदैन। सुरक्षित दूरीबाट फोटो खिच्न सम्भव भए चिकित्सकलाई पहिचानमा सहयोग पुग्न सक्छ, तर फोटो खिच्न वा सर्पको पहिचान गर्नकै लागि उपचारमा ढिलाइ गर्नु हुँदैन।
८५ वर्षीया जयमति नेगीको उपचारपछि भएको सफल डिस्चार्जले समयमै अस्पताल पुर्याउनु र स्वास्थ्यकर्मीबाट उपचार गराउनुको महत्त्वलाई पुनः उजागर गरेको छ। विषालु सर्पको टोकाइपछि पनि उहाँको स्वास्थ्यमा सुधार आउनु परिवारका लागि ठूलो राहत बनेको छ।
Comments are closed.