महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासनिर्माणमा ढिलासुस्ती र लापरबाही प्रदेश सरकारलाई सह्य नहुने बताएका छन्। धनगढीमा भएको बहुवर्षीय आयोजनाको प्रगति समीक्षा गोष्ठीमा उनले बजेट दुरुपयोग, लापर्बाही, बहानाबाजी सह्य नहुने बताएका हुन्।
केही दिनअगाडि मात्रै अछाम र बाजुरामा सञ्चालनमा रहेका आर्थिक वर्ष २०७५÷७६ देखिका समस्याग्रस्त आयोजना अनुगमन गरेका उनले पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्ने कसैलाई पनि छुट नहुने जिकिर गरे। ’समयमा काम नगर्ने ठेकेदारलाई अब छुट हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ’जनताको अपेक्षाविपरीत आयोजना अलपत्र पार्ने निर्माण कम्पनी होस् वा मन्त्रालय अन्तर्गतका कार्यालय, जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ ।’
विकट बाजुरामा लामो समयदेखि सडक आयोजना अलपत्र रहेको मुख्यमन्त्रीको भनाइ थियो । उनले आयोजना समयमा सम्पन्न गर्न, गुणस्तरयुक्त निर्माण र स्थानीयमा विश्वास जगाउने गरी काम गर्न निर्देशन दिए।
योजना सुपरिवेक्षण, अनुगमन तथा समस्याको समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा जिम्मेवार रहने मुख्यमन्त्री शाहको भनाइ थियो। उनले मार्तडी–कोल्टी रोडमा गएको पहिरो व्यवस्थापनसहित आवागमन सहज बनाउन निर्देशन दिएका छन्।
समीक्षा कार्यक्रममा अछाम, बाजुरामा निर्माणाधीन मार्तडी–कोल्टी–पिलिचौर सडक, सेरा–आँटीचौर–थामलेक, जयगढ–माझेठाना–रामारोशन, चिसापानी–जङ्गलघाट–बडीमालिका (जङ्गलघाट–तुर्माखाँद–बाँसकाँडा खण्ड) समयमै सम्पन्न गर्नुपर्ने जोड दिइएको थियो।
यसै गरी खप्तड–मार्तडी–भौनेरा–आँटीचौर सडकखण्ड, खप्तड–मार्तडी–डोगडी–गैरीखाँद–काँडा, विनायक– लयाटी–पुलेतोला–रामारोशन, चिसापानी–जङ्गलघाट– बडीमालिका–गरीटाँड–कालागाउँ–दर्ना, साँफे–नन्देगडा–मेल्लेख–षोडषा–ऋषिदह सडक समयमै पूरा गर्नुपर्नेबारे छलफल गरिएको थियो।
Comments are closed.