बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौँ साधारण सभा सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिका वडा नम्बर–९ मा रहेको बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।शनिबार बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष पदम सिंह कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा अध्यक्ष कुँवरले समितिले स्थापना कालदेखि नै उपभोक्ताहरूलाई सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा सेवा थप प्रभावकारी, पारदर्शी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। खानेपानी व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता, नियमित महसुल संकलन र सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको धारणा राख्दै उनले सबैको सहयोग बिना संस्थाको दीर्घकालीन लक्ष्य हासिल गर्न कठिन हुने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले स्थानीय स्तरमा पु¥याएको योगदानको प्रशंसा गर्दै खानेपानी जस्तो आधारभूत सेवामा समितिको भूमिका महत्वपूर्ण रहेको बताइन्।नगरपालिकाले नीति, योजना र आवश्यक स्रोतसाधनका माध्यमबाट संस्थालाई गर्न सकिने सहयोगमा सदैव सकारात्मक रहने स्पष्ट पार्दै उपभोक्ताहरूले पनि सेवाको दिगोपनाका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

साधारण सभामा संस्थालाई विभिन्न समयदेखि सहयोग गर्ने, नियमित रूपमा बिल तिर्ने तथा समितिको गतिविधिमा सक्रिय योगदान पु¥याउने संस्था तथा व्यक्तिहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

साथै, बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको स्थापना र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक समितिका सदस्यहरूलाई समेत विशेष सम्मान गरिएको थियो।

सम्बन्धित

Comments are closed.