सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

महेन्द्रनगर । कृषि, स्वास्थ्य, स्थानीय विकास, सुशासनलगायत समग्र बेलडाँडीको विकासका सवालमा निरन्तर खवरदारी गर्दै आएका निडर तथा स्वतन्त्र पत्रकार विमल धामी वागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि। द्वारा सम्मानित भएका छन्।

सहकारीको २१औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा पत्रकार धामीलाई विशिष्ट अतिथि तथा वडा नं ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले दोसल्ला, माला, नगद तथा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभयो।

सम्मान कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष दुर्गा रोकायाले पत्रकार धामीले जनताको पक्षमा उभिएर निडरताका साथ सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताउनुभयो। उहाँले ग्रामीण भेगका समस्या, जनचासो र विकासका विषयलाई निरन्तर उठान गर्नु पत्रकारिताको मूल मर्म भएको उल्लेख गर्नुभयो।

स्थानीय तहका विकृति, विसंगति र कमजोरीमाथि खवरदारी गर्दै समाधानको बाटो खोज्ने पत्रकार धामीको यो सम्मानले निष्पक्ष, जिम्मेवार र खोजमूलक पत्रकारितालाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ।

केही दिनअघि बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले समेत धामीको पत्रकारिताको प्रशंसा गर्दै सम्मान गरेको थियो। सम्मानपछि प्रतिक्रिया दिँदै पत्रकार धामीले आफ्नो कामको मूल्यांकन हुनु पत्रकारका लागि ठूलो प्रेरणा भएको बताउँदै सम्मान गर्ने संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा पनि सत्य, तथ्य र प्रमाणमा आधारित खोजपत्रकारिता गर्दै जनताको आवाज बुलन्द बनाउने प्रतिबद्धता जनाउनुभयो। विगत १२(१३ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय धामीले ग्रामीण भेगका मुद्दा उठानमा मात्र सीमित नभई तिनको समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

उहाँको निर्भीक खवरदारी र निरन्तर कलमले स्थानीय शासन, विकास र जनउत्तरदायित्वमा सकारात्मक दबाब सिर्जना गर्दै आएको स्थानीयवासीहरूको भनाइ छ।

सम्बन्धित

Comments are closed.