महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर (११ ले एसइइ परीक्षा दिने विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। शैक्षिक गुणस्तर सुधार गर्ने अभियान अन्तर्गत वडा कार्यालयले यस वर्ष पनि विद्यार्थीहरूका लागि विशेष तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
वडा अध्यक्ष प्रकाश थापाका अनुसार विद्यार्थीहरूलाई सबैभन्दा कठिन लाग्ने गणित र विज्ञान विषयको तीन महिनासम्म निःशुल्क तयारी गराइनेछ। निर्वाचित भएदेखि नै हरेक वर्ष विद्यार्थी केन्द्रित यस्ता कार्यक्रम गर्दै आउनुभएका थापाले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनुभएको हो।
वडा अध्यक्ष थापाले भन्नुभयो, “वडाको शैक्षिक गुणस्तर थप प्रभावकारी बनाउन र विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यी कक्षाहरू सञ्चालन गर्न लागेका हौँ।
यसले पक्कै पनि उनीहरूको भविष्य निर्माणमा मद्दत पुग्ने विश्वास लिएको छु।” आवश्यक परेमा अन्य विषयका तयारी कक्षा समेत सञ्चालन गरिने वडा अध्यक्ष थापाले बताउनुभएको छ।
शैक्षिक तयारीका साथै विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्न वडाले तीन महिने निःशुल्क बेसिक कम्प्युटर कोर्स समेत सञ्चालन गर्दै आइरहेको छ।
दक्ष जनशक्ति उत्पादन गर्न र विद्यार्थीलाई सीपमूलक शिक्षा प्रदान गर्न यो कार्यक्रम प्रभावकारी देखिएको वडा कार्यालयले जनाएको छ। शिक्षाका अतिरिक्त वडा नम्बर ११ ले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यहरू गर्दै आएको छ।
जसमा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, खेलाडीहरूलाई खेलकुद सामग्री तथा जर्सी वितरण गर्ने र अन्य सामाजिक सुधारका कार्यहरू प्राथमिकतामा रहेका छन्।
वडाले आफ्नै खर्चमा ट्युसन र कम्प्युटर कक्षा सञ्चालन गरिदिने भएपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा अभिभावकहरू उत्साहित बनेका छन्।
आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धिका लागि थप नयाँ कार्यक्रमहरू ल्याइने वडा अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभएको छ।
Comments are closed.