दोधारा चाँदनीका रावतको उपचारार्थ संकलित सहयोग रकम हस्तान्तरण

महेन्द्रनगर । कंचनपुरको दोधारा चाँदनी नगरपालिका–१० रावत टोलका घनश्याम रावतको उपचारार्थ संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।

आज मंगलबार एक कार्यक्रमका बिच भारतको गुजरातमा रोजगारीका क्रममा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका रावतको उपचारार्थ संकलित सहयोग रकम १ लाख २५ हजार हस्तान्तरण गरिएको हो ।

दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेपछि हाल भारतको बरेलीस्थित अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सकले टाउकोको शल्यक्रिया सम्पन्न गरिसकेका भए पनि अवस्था अझै जटिल रहेको परिवारले जनाएको छ।

घनश्यामको उपचारमा प्रारम्भदेखि नै ठूलो रकम खर्च भइसकेको र थप उपचारका लागि अझै धेरै आर्थिक स्रोत आवश्यक परेपछि परिवार आर्थिक संकटमा परेको थियो। यही अवस्थालाई मध्यनजर गर्दै दोधारा चाँदनी खबरका सञ्चालक भूपेन्द्र ओलीले सामाजिक सञ्जालमार्फत ‘घनश्याम बचाउ अभियान’ सुरु गरेका थिए।

अभियानबारे बोल्दै भूपेन्द्र ओलीले भने, “घनश्यामको अवस्था अत्यन्त गम्भीर छ। उपचार खर्च परिवारले धान्न नसक्ने भएपछि मानवीय दायित्वका रूपमा अभियान सुरु गरिएको हो।

छोटो समयमै देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र शुभेच्छुकहरूले खुलेर सहयोग गर्नुभयो, जसका लागि म सबैप्रति आभारी छु।”उनले संकलित रकमले उपचारमा केही राहत पुगे पनि उपचार प्रक्रिया अझै लामो र खर्चिलो रहेकाले सहयोग निरन्तर आवश्यक रहेको बताए।

“घनश्यामको जीवन रक्षा नै अहिलेको मुख्य उद्देश्य हो, त्यसका लागि सबैको साथ अझै आवश्यक छ,” ओलीले थपे।आज आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डे तथा दोधारा चाँदनी नगरपालिका वडा नं १० का वडाध्यक्ष चन्द्रबहादुर सिंह लगायतको टोली घनश्याम रावतको घरमै पुगेर अभियानबाट संकलित १ लाख २५ हजार रुपैयाँ उनकी आमा धर्मा रावतलाई हस्तान्तरण गरिएको छ।

सेवा नै धर्म हो भन्ने भावनाले देश तथा बिदेशमा रहेका ब्यक्तिहरुले गरेको सहयोगको लागि सचिव पाण्डेयले धन्यवाद दिनु भएको छ ।

आर्थिक अभावको कारण निकै समस्या र कठिन परिस्थितिमा रहेका रावत परिवारको आसाको दियो र जिबिकोपार्जनको आधार बनेका धनश्याम रावतको उपचारार्थ देश तथा बिदेशमा रहेका ब्यक्तिहरु द्वारा गरिएको सहयोग अमुल्य रहेको र अझै सहयोग गरिदिन उनले आग्रह गरे ।

सम्बन्धित

Comments are closed.