महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ । बैतडीमा मङ्गलबार साँझदेखि नै सतबाँझ, रौलाकेदार क्षेत्र, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा बाक्लो हिमपात भएको हो ।
दोस्रो पटकको वर्षा र हिमपातसँगै गहुँलगायत हिउँदे बाली सप्रिने आशा जागेको छ । लामो समयसम्म पानी नपरेर बाली प्रभावित बनेको अवस्थामा भएको वर्षा र हिमपातले किसानलाई राहत मिल्ने अपेक्षा गरिएको स्थानीय कृषक नरेन्द्र विष्टले बताए ।
हिमपातका कारण उच्च भेगमा चिसो अत्यधिक बढेको छ भने जनजीवन प्रभावित भएको छ । कतिपय स्थानमा धाराको पानी जम्नुका साथै स्थानीयवासीलाई हिँडडुलमा समेत कठिनाइ भएको सुर्नया ८, ढोल्यामोडका स्थानीय दिनेश बोहराले बताए ।
त्यस्तै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर्षा भएको थियो । हिउँदे वर्षासँगै राति हिमपातसमेत भएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्याम सुनारले जानकारी दिए ।
उनका अनुसार पछिल्लो तीन वर्षपछि मात्रै डडेल्धुरामा हल्का हिमपात भएको हो । उनका अनुसार यस अघि डडेल्धुराका उच्च पहाडी भेगमा २०७९ माघ ९ गते हिउँदे वर्षासँगै हिमपात भएको थियो ।
त्यस यताका वर्षहरुमा भने हिमपात भएको थिएन । शुक्रबार राति २६ मिलिमिटर वर्षासँगै हल्का हिमपात भएको उनले बताए । जिल्ला सदरमुकामा हिमपात भए पनि पग्लिएको थियो भने उच्च पहाडी भेग महाभारत पर्वत क्षेत्र करिब ६ इन्चसम्म हिमपात भएको छ ।
यसैगरी, मङ्गलबार साँझदेखि फेरी सुरुभएको वर्षासँगै उच्च पहाडी क्षेत्र दोस्रो पटक हिमपात भएको उनले बताए । मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म डडेल्धुरामा २४ मिलिमिटर वर्षा भएको उहाँले जानकारी दिए ।
बुधबार दिनभरि र रातिसम्म पानी पर्ने सम्भावना भएकाले हिमपातको सम्भावना उच्च रहेको छ ।’’डडेल्धुराको आजको अधिकत तापक्रम ८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ० डिग्री हुनसक्ने सभावना छ । हिउँदे वर्षा र हिमपातले हिउदे बालीनालीका लागि पर्याप्त भएको छ ।
१२ मिलिमिटर वर्षा हुँदा एक फिट गहिराइसम्म आर्द्रता पुग्ने भएकाले बुधबार बिहानसम्म भएको वर्षाले दुई फित गहिराइसम्म पुग्ने भएकाले बालीनालीका लागि पर्याप्त पानी पुगेको छ ।
Comments are closed.