महेन्द्रनगरमा औषधी पहिचान गर्न नसक्नेले पनि औषधी बेच्दै

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेका केही क्लिनिक, मेडिकलहरुले आम नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरेको पाइएको छ । महेन्द्रनगर बजारमा सञ्चालनमा रहेका औषधि पसल, मेडिकल तथा औषधि सम्बन्धी व्यवसायहरूले विना फार्मेसिस्ट औषधीहरु विक्री वितरण गरेको पाईएको छ जुन कानुनी रुपमा मापदण्ड विपरित रहेको पाईएको छ ।

आईतबार औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेपछि उक्त तथ्य बाहिरीएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधिसहित खटिएको टोलीले औषधि व्यवसायहरू नियमअनुसार सञ्चालन भए÷नभएको विषयमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश औषधि पसलहरूमा फार्मेसिष्ट विना औषधी पसल संचालनमा रहेको, व्यवसाय दर्ता भएको व्यक्तिको प्रत्यक्ष उपस्थिति नदेखिएको, केही पसलहरूमा तोकिएको मापदण्डबाहेकका औषधि बिक्रीका लागि राखिएको पाइएको छ ।

औषधि भण्डारण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्ड पूरा नभएको अवस्था भेटिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका फर्मेसी सुपरभाइजर निरिक्षक दिनेश न्यौपानेले बताउनु भयो ।

उहाँले कञ्चनपुरमा मात्रै नभएर कैलालीमा पनि यस्तै प्रकारका समस्याहरु देखिएको र दर्ता विनै संचालन गरेको र व्यवसायीहरु आफुले संचालन नगर्ने गरेको र तालिम प्राप्त व्यक्ती आफु नभएर अरुले नै औषधीहरु बेच्ने गरेको र विक्रि गर्न नमिल्ने खालका औषधीहरु पनि बेच्न राखेको पाइएको उहाँबले बताउनु भयो ।

अहिले कैफियत देखिएका पसलमा केहीलाई जवाफ माग गरेको र केहीलाई सम्झाइबुझाई पनि गरीएको बताउनु भयो ।

अनुगमन सुरु भएको समय महेन्द्रनगरका कतिपय औषधि पसलहरू बन्द अवस्थामा समेत भेटिएका थिए । यसले औषधि व्यवसाय सञ्चालनमा पारदर्शिता र जिम्मेवारीको आवश्यकता अझै रहेको देखाएको अनुगमनकर्ताहरूको भनाइ छ ।

औषधि व्यवस्था विभागले नेपालगञ्जबाट समय–समयमा अनुगमन गर्दै आएको जानकारी दिँदै आर्थिक वर्ष २०८२÷०८३ भित्र कञ्चनपुर जिल्लामा गरिएको यो दोस्रो अनुगमन भएको स्पष्ट पारेको छ ।

औषधि व्यवसायमा देखिएका कमी–कमजोरी औँल्याउँदै व्यवसायीहरूलाई आवश्यक सुझाव दिने तथा मापदण्ड उल्लङ्घन गर्नेहरूमाथि कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

सम्बन्धित

Comments are closed.