विद्यार्थीलाई आत्मनिर्भर बनाउन ‘मोर्डन फेस्ट’, अभिभावक र पाहुनाहरू मख्ख

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका(३ भासीमा रहेको महाकाली मोर्डन पब्लिक सेकेन्डरी स्कुलले ‘मोर्डन फेस्ट’ सम्पन्न गरेको छ।विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष आयोजना गर्दै आएको यस फेस्टमा यसवर्ष पनि विद्यार्थीहरूले बहुआयामिक कला र सीपको प्रदर्शन गरेका छन्।

फेस्टमा विद्यार्थीहरूले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरका मौलिक खानेकुराका परिकार, सुदूरपश्चिमको कला(संस्कृति झल्काउने नृत्य तथा संगीत प्रस्तुत गरिएको थियो। यसका साथै साहित्य, संस्कृति, खेलकुद र विज्ञान एवम् प्रविधिमा आधारित विद्यार्थीहरूले तयार पारेका विभिन्न आविष्कारहरूको समेत प्रदर्शनी गरिएको थियो।

कार्यक्रममा भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले विद्यालयले आयोजना गरेको यस किसिमको रचनात्मक कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताउनुभयो।

उहाँले किताबी ज्ञानसँगै विद्यार्थीहरूलाई प्रयोगात्मक र व्यवहारिक सीपमा अभ्यस्त गराउनु वर्तमान शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुभयो।

आफ्ना नानी बाबुहरूले बनाएका स्वादिष्ट परिकारको स्वाद लिँदै र उनीहरूले तयार पारेका विज्ञानका नयाँ आविष्कारहरूको अवलोकन गर्दै अभिभावकहरूले विद्यार्थीको मेहेनत र क्षमताको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

विद्यालयका प्रधानाध्यापक दिजराज भट्टले विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा लागू गराउने तथा उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले फेस्टको आयोजना गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “विद्यार्थीभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन र उनीहरूलाई सिर्जनशील कार्यमा उत्साहित गर्न हामीले हरेक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ।”

विद्यालयको यस प्रयासले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै स्थानीय कला र प्रविधिप्रतिको चासो समेत वृद्धि भएको पाइएको छ।

सम्बन्धित

Comments are closed.