महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भाँसीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले जिल्लामै नविनतम र पृथक कार्य गरेको छ । उक्त विद्यालयले वृहतरुपमा विद्यार्थी उत्प्रेरणा तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार करिब १५ सय बढी विद्यार्थीहरू र अभिभावकहरुको सर्वाङ्गीण विकास र अभिभावक–विद्यालय सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा राष्ट्रिय उत्प्रेरक क्षेत्रप्रशाद ज्ञवालीले उक्त विद्यार्थी उत्प्रेरणा तथा अभिभावक अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
उहाँले विद्यार्थी र अभिभावकहरुलाई लक्ष्य निर्धारण, समय व्यवस्थापन, अनुशासन, अभिभावकको भुकिका, अध्ययनको तरिका, भविष्यको लक्ष्य प्राप्तीको तरिका, महत्त्वबारे प्रेरणादायी कार्यक्रम संचालन गर्नु भएको थियो ।
उहाँले अध्ययनसँगै नैतिक शिक्षा, सकारात्मक सोच र आत्मविश्वास विकास गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । उहाँले अहिले सबै भन्दा बढी मोवाइल फोनको दुरुपयोगले गर्दा बालबालिकाहरु मोवाइलको कुलतमा फसेको र अधिकाँश अभिभावकहरुको कारणले गर्दा यस्तो भएको बताउनु भयो ।
घरमा नियम बनाएर सबैले पालना गर्ने हो भने कसैले पनि नकारात्मक तर्फ आफनो दिमागलाई लैजाने वातावरण नहुने बताउनु भयो । साथै उहाँले अभिभावकलाई आफ्ना बालबालिकाको पढाइप्रति नियमित चासो राख्न, घरमा अनुकूल अध्ययन वातावरण बनाउन र विद्यालयसँग निरन्तर समन्वय गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले विद्यार्थीको सफलता विद्यालय र अभिभावक दुवैको साझा जिम्मेवारी रहेको बताउनु भयो ।
साथै, गुणस्तरीय शिक्षासँगै चरित्र निर्माण र व्यवहारिक ज्ञान आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले विद्यालयले शैक्षिक उपलब्धिमात्र होइन, संस्कारसहितको सिपयुक्त शिक्षा सहितको अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै जोड दिँदै आएको उल्लेख गर्नुभयो ।
“विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य छ,” उहाँले भन्नुभयो, “घर र विद्यालयबीचको निरन्तर संवादले नै बालबालिकाको आत्मविश्वास र क्षमता विकासमा टेवा पुग्छ।”
उहाँले अभिभावकहरूलाई आफ्ना सन्तानको रुचि, क्षमता र लक्ष्य पहिचान गरी सकारात्मक वातावरण प्रदान गर्न आग्रह गर्दै विद्यार्थीहरूलाई परिश्रम, अनुशासन र स्पष्ट लक्ष्यका साथ अघि बढ्न प्रेरित गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष संस्थापक सदस्य हर्कबहादुर धामीले सहभागी सबैलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अभिभावकहरूले पनि कार्यक्रम अत्यन्तै उपयोगी र प्रभावकारी र जिवनमा काम लाग्ने प्रेरणदायी रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न प्रेरणादायी गतिविधि, समूह छलफल तथा प्रस्तुति मार्फत आत्मविश्वास अभिवृद्धि गर्ने अभ्यास गराइएको थियो ।
Comments are closed.