महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
रास्वपाका युवा नेता बोहराले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतको फराकिलो अन्तरले पराजित गर्दै पहिलो प्रयासमै संसद् यात्रा तय गरेका हुन्।
निर्वाचनको अन्तिम मत परिणाम अनुसार बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दा साउदले १० हजार ८२८ मत ल्याएका छन्।
पहिलो पटक चुनावी मैदानमा उत्रिएका बोहराले सातौँ पटक चुनाव लडेका तथा तीन पटक सांसद बनेर मन्त्रीसमेत भइसकेका साउदलाई पराजित गर्नु यस क्षेत्रको राजनीतिमा नयाँ सन्देश र परिवर्तनको संकेतका रूपमा हेरिएको छ।
अन्य उम्मेदवारमध्ये नेकपा (एमाले) का बचन बहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का माधवप्रसाद पन्तले ६ हजार ३३७ मत ल्याएका छन्। यस्तै राप्रपाका तीर्थराज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका छन्।
यसैगरी नागरिक उन्मुक्ति पार्टीकी प्रेमबती रानाले ५६० मत प्राप्त गर्दा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले न्यून मत प्राप्त गरेका छन्।
उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेश साउदले निर्वाचनको अन्तिम चरणमा आएर रास्वपाका उम्मेदवार बोहरालाई समर्थन जनाएका थिए।
निर्वाचन आयोगका अनुसार क्षेत्र नम्बर २ मा रहेका १ लाख ९ हजार ५७४ मतदातामध्ये ६५ हजार ३४७ मत खसेका थिए। तीमध्ये ६१ हजार ११७ मत सदर भएका छन् भने ४ हजार २३० मत बदर भएका छन्।
क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीका अनुसार निर्वाचित सांसद दीपकराज बोहरालाई औपचारिक रूपमा निर्वाचन प्रमाणपत्र प्रदान गरिसकिएको छ।
कञ्चनपुर–२ मा आएको यो परिणामलाई धेरैले परम्परागत राजनीतिक शक्तिमाथि नयाँ पुस्ताको उदयको रूपमा व्याख्या गर्न थालेका छन्।
Comments are closed.