महेन्द्रनगर । वेदकोट नगरपालिकामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुका लागि “न्याय सम्पादनमा सकारात्मक दृष्टिकोण” विषयक तीन दिने क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरीएको छ ।

उक्त कार्यक्रमको सभाध्यक्षमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला न्यायधिस राजेन्द्र सिंह भण्डारी रहनु भएको थियो ।कार्यक्रममा न्यायिक समितिको प्रभावकारी कार्यसम्पादन, स्थानीय तहमा हुने विवाद समाधान प्रक्रिया, मेलमिलापकर्ताको भूमिका तथा न्याय सम्पादनलाई थप सहज, निष्पक्ष र जनमुखी बनाउने विषयमा प्रशिक्षण दिइने भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायधिस राजेन्द्र सिंह भण्डारीले न्यायलयमा कार्यरत सबैले निष्पक्ष भएर सन्तुलनमा रहेर निर्णय लिनु पर्ने बताउनु भयो ।
उहाँले स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, सहज र जनमैत्री बनाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
यसैगरी, नगरउपप्रमुख जोशीले समुदायमा हुने सामान्य विवादहरुलाई मेलमिलापमार्फत समाधान गर्दा सामाजिक सद्भाव कायम रहने उल्लेख गर्दै न्यायिक समितिले निष्पक्ष र सकारात्मक ढंगले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख जोशीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुको दक्षता बढाउने विश्वास व्यक्त गर्दै नागरिकलाई छिटो, सहज र भरोसायोग्य न्याय सेवा प्रदान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व रहेको बताउनु भयो ।
कार्यक्रमका सहभागीहरुलाई व्यवहारिक अभ्याससहित न्यायिक प्रक्रिया, कानुनी व्यवस्था, मेलमिलापका विधि र समुदायस्तरमा उत्पन्न विवाद समाधानका उपायबारे जानकारी गराइएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरुले स्थानीय तहमा न्यायिक समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै न्याय सम्पादनमा सकारात्मक सोच, निष्पक्षता र जनविश्वास कायम गर्न यस्ता तालिम प्रभावकारी हुने बताएका थिए ।
तीन दिने कार्यक्रममा नगरपालिकाभित्रका न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
Comments are closed.