महेन्द्रनगर । कञ्चनपुरको एक वडा कार्यालयले वडामा सञ्चालित विकास निर्माणका विषयमा नागरिकसँग छलफल गर्न लागेको छ।
बेदकोट नगरपालिका– ८ नम्बर वडा कार्यालयले गरेका विकास निर्माणका कामकाजका विषयमा वडावासी नागरिकसँग छलफल गरिरहेको छ।
‘राम्रो वडा हाम्रो वडा, शिक्षित, समृद्ध र सांस्कृतिक वडा निर्माण, सम्मान, समीक्षा र संकल्पको साझा अभियान’ भन्ने मूल नाराका साथ वडा कार्यालयले नागरिकसँग समीक्षा गर्न लागेको हो।
बेदकोट नगरपालिका– ८का वडाध्यक्ष महेशराज जोशीले विगत चार वर्षयता वडा कार्यालयबाट सम्पादित भएका भौतिक एवं मानवीय विकासबारे आमवडावासीसँग प्रत्यक्ष संवाद गरेर अघि बढिरहेको बताए।
वडाध्यक्ष जोशीले ६ टोलका अगुवाहरूसँग विकास निर्माणका विषयमा टोलटोल, गाउँबस्तीमा गएर छलफल गरिरहेको बताए।
वडाध्यक्ष जोशीले वडा कार्यालयदेखि वडा कार्यालयमार्फत पालिका, प्रदेश र संघीय सरकारले सहयोग गरेको बजेटअनुरूप गाउँबस्तीमा सञ्चालित भौतिक विकासदेखिका मानवीय विकास निर्माण कार्यको प्रत्यक्ष संवाद गरेर सुझाव सल्लाह लिइरहेको बताए।
उनले टोल समितिमार्फत नागरिकका सुझाव सल्लाहअनुरूप हरेक चार वर्षमा योजना ल्याएर कार्यान्वयन गरेको बताए ।
‘हामीले वडामा नागरिकलाई लालपुर्जा वितरण, सडक स्तरोन्नति, ढल निकास, सामुदायिक भवन निर्माण, पर्यटन क्षेत्रका भौतिक पूर्वाधार निर्माण, विद्यालय भवन, कृषिका कार्यक्रम टोलटोलमै गएर स्वास्थ्य सेवा प्रदानदेखिका मानवीय विकास क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेका छौँ,’ उनले भने, ‘नागरिक सुरक्षाका लागि प्रहरीचौकी निर्माणदेखि अब पनि फेरि नागरिकसँगै रहेर आउँदो आर्थिक वर्षका लागि योजना कार्यान्वयन गर्नेछौँ ।’
वडाध्यक्ष जोशीले नागरिक स्तरबाट वडाबाट सञ्चालित योजनामा सन्तुष्ट भए पनि माथिल्ला सरकारबाट धार्मिक ऐतिहासिक एव भौगोलिक रूपमा प्रख्यात पर्यटकीय वडाको वृद्धि विकासका लागि बृहत् योजना ल्याउनुपर्नेमा जोड दिए ।
Comments are closed.