महेन्द्रनगर । कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आदिवासी जनजाति समुदायमा पारेको प्रभाव बारे अनुगमन तथा प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखकले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा आदिवासी जनजाति आयोगका अध्यक्ष माननिय रामबहादुर थापा मगरको उपस्थिति रहेको थियो ।
भीमदत्त नगरपालिकाको सहकार्य तथा आदिवासी जनजाति आयोगको आयोजनामा सम्पन्न कार्यक्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापना र संरक्षणका क्रममा आदिवासी जनजाति समुदायले भोग्दै आएका समस्या, चुनौती तथा उनीहरूको हकअधिकारका विषयमा छलफल गरिएको थियो । साथै २दिन सम्म आयोगका अध्यक्ष लगायतले आरक्ष पिडितहरुको अस्थायी वस्तीहरुमा अनुगमन पनि गरेका थिए ।
उक्त अनुगमनबाट देखिएका विषयवस्तुहरु लगायतको बारेमा पनि छलप,ल भएको थियो । साथै, समुदायका गुनासा, सुझाव तथा संरक्षण र विकासबीच सन्तुलन कायम गर्ने उपायबारे सहभागीहरूबीच अन्तरक्रिया भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष माननिय मगरले “शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधता संरक्षणका दृष्टिले महत्वपूर्ण सम्पदा हो। तर संरक्षणका नाममा आदिवासी जनजाति समुदायको परम्परागत अधिकार, संस्कृति र जीविकोपार्जनमा प्रतिकूल असर पर्नु हुँदैन। संरक्षण र समुदायको अधिकारबीच सन्तुलन कायम गर्दै अघि बढ्नु आवश्यक छ ।“
उहाँले आदिवासी जनजाति समुदायका समस्या, गुनासा र सुझावलाई आयोगले गम्भीरतापूर्वक लिएको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै स्थानीय समुदायको सहभागिताबिना दीगो संरक्षण सम्भव नहुने उल्लेख गर्दै नीति निर्माण र कार्यान्वयनमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । वक्ताहरूले जैविक विविधता संरक्षणसँगै आदिवासी जनजाति समुदायको परम्परागत अधिकार, जीविकोपार्जन र सामाजिक–आर्थिक अवस्थालाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले स्थानीय समुदाय, निकुञ्ज प्रशासन र सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, सम्बन्धित सरकारी निकायका प्रतिनिधि, सरोकारवाला संघ–संस्था तथा आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
Comments are closed.