महेन्द्रनगर । कञ्चनपुरमा नव युवामा बढ्दो लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले दोहोरी, सडक नाटक तथा डेउडा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
नगरस्तरीय विपद् व्यवस्थापन उत्थानशील युवा सञ्जालका सदस्यहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा युवाहरूलाई लागुपदार्थ दुव्र्यसनबाट कसरी टाढा राख्ने, यसको प्रयोग कसरी न्यूनीकरण गर्ने तथा स्वस्थ, सिर्जनशील र जिम्मेवार जीवनशैलीतर्फ अभिप्रेरित गर्ने विषयमा विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत सन्देश प्रवाह गरिएको सदस्य विरेन्द्र ओडले जानकारी दिनुभयो ।
कार्यक्रममा दोहोरी गीत, डेउडा तथा सडक नाटकका माध्यमबाट लागुपदार्थ सेवनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। साथै, युवाहरूलाई सकारात्मक सोच, शिक्षा, खेलकुद, सीप विकास तथा सामाजिक गतिविधिमा सक्रिय हुन प्रेरित गर्दै
लागुपदार्थ दुव्र्यसनबाट टाढा रहन आग्रह गरिएको थियो। सञ्जालका सदस्यहरूले समुदायमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै भविष्यमा पनि विद्यालय, टोल तथा समुदायस्तरमा सचेतनामूलक अभियानलाई निरन्तरता दिने बताएका छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, युवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि सरकारी निकाय, समुदाय, अभिभावक र युवाहरूबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
Comments are closed.