भीमदत्त–११ मा स्थानीयलाई वैकल्पिक चुलो वितरण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ ले स्थानीय बासिन्दालाई वैकल्पिक चुलो वितरण गरेको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र,भीमदत्त नगरपालिका र वडा कार्यालयको संयुक्त लागतमा १ सय ११ घरधुरीलाई वैकल्पिक चुलो वितरण गरिएको हो ।

वातावरण संरक्षण, दाउरा तथा इन्धनको खपत घटाउने, धुवाँरहित तथा स्वस्थकर भान्साको प्रवद्र्धन गर्ने उद्देश्यका साथ चुलो वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वैकल्पिक चुलोको प्रयोगबाट इन्धनको बचत हुनुका साथै घरभित्र हुने धुवाँका कारण हुने स्वास्थ्य समस्यामा समेत कमी आउने अपेक्षा गरिएको छ ।

भीमदत्त नगरपालिकका ११ का वडा अध्यक्ष प्रकाश थापाले स्वच्छ ऊर्जा प्रयोगलाई गाउँ–समुदायसम्म विस्तार गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताउनु भयो ।

उहाँले वैकल्पिक चुलोको प्रयोगले वन संरक्षणमा टेवा पुग्ने, घरपरिवारको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र इन्धनमा हुने खर्चसमेत घट्ने उल्लेख गर्नुभयो ।

वितरण गरिएका चुलोको सही प्रयोग तथा संरक्षण गर्न उनले सबै लाभग्राहीलाई आग्रह गर्नुभयो । स्थानिय बसन्ती पाण्डेयले वडाले गरेको यो सहयोगले आफुहरुलाई निकै सजिलो हुने बताउनु भयो ।

थोरौ दाउरामा पनि खाना बनाउन सकिने धुँवा रहित चुलो भएपछि सबैले यस्मा नै आफनो काम गर्ने उहाँको भनाई रहेको छ । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

आगामी दिनमा पनि नागरिकको जीवनस्तर सुधार र वातावरण संरक्षणलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने भीमदत्त नगरपालिका–११ ले जनाएको छ ।

सम्बन्धित

Comments are closed.