महेन्द्रनगर । आफन्त नेपाल शाखा कार्यालय कञ्चनपुरको आयोजनामा, इलाका प्रहरी कार्यालय कञ्चनपुरको सहकार्य तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सौजन्यमा भीमदत्त नगरपालिका–१२ बासखेडा ऐरीस्थित पूर्ण माध्यमिक विद्यालयमा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

असार ३० गते आयोजित कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत ५१ जना विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार, लैङ्गिक हिंसा, बाल संरक्षण, सुरक्षित आप्रवासन तथा यस्ता घटनाबाट बच्ने उपायका बारेमा जानकारी प्रदान गरिएको थियो।सहजीकरणका क्रममा मानव बेचबिखनका विभिन्न स्वरूप, त्यसका जोखिम, कानुनी व्यवस्था तथा शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउनुपर्ने विषयमा विद्यार्थीलाई सचेत गराइएको थियो। साथै लैङ्गिक हिंसा न्यूनीकरण, समान व्यवहार, सुरक्षित वातावरण निर्माण र हिंसाविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकतामाथि पनि जोड दिइएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले जिज्ञासा राख्दै मानव बेचबिखन तथा लैङ्गिक हिंसासम्बन्धी विभिन्न विषयमा जानकारी लिएका थिए। आयोजक संस्थाले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यालय तहदेखि नै विद्यार्थीमा सकारात्मक सोचको विकास हुनुका साथै मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध सचेत समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
Comments are closed.