महेन्द्रनगर । छाडा गाईबस्तुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका गर्न त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउने अभियान सुरु गरिएको छ ।
युवा समूहको सक्रियतामा गड्डाचौकीस्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाउन सुरु गरिएको स्थानीय हेमराज भट्टले जानकारी दिए ।
‘रिफ्लेक्टिङ बेल्ट’ले राति सवारी चालकलाई टाढैबाट छाडा पशु चौपाया देख्न सजिलो हुने भएकाले सडक दुर्घटना कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सोही क्रममा सोमबार मात्रै त्यस क्षेत्रमा १५० भन्दा बढी पशुचौपायामा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गरिएको छ ।“रातिको समयमा छाडा पशुचौपायाको राजमार्गमा हुने आवतजावत नदेखेर सवारी दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान थालेका हौँ,” स्थानीय युवा भट्टले भने, “स्वतःस्फूर्त रूपमा २०÷२२ जना युवा ‘रिफ्लेक्टिङ बेल्ट’ जडान गर्ने अभियानमा जुटेका छौँ।”
स्थानीय युवाको उक्त कार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला ट्राफिक कार्यालयले समेत साथ दिएको छ । उनले भने, “यहाँ छाडा पशु चौपाया प्रमुख समस्या भए पनि स्थानीय सरकारले यसको व्यवस्थापन गर्न सकेका छैनन् ।”कञ्चनपुर जिल्लामा मात्रै हजारभन्दा बढी छाडा पशु चौपाया रहेको आकलन गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकाले भने पछिल्लो समय छाडा पशु चौपाया व्यवस्थापनमा जुटेको छ । अन्य पालिकाले पनि छाडा पशु व्यवस्थापनमा पहल गरे पनि सार्थकता पाउन सकेको देखिन्न ।
Comments are closed.