वेदकोट–६ मा रहेको सिद्धनाथ माविमा अक्षयकोष स्थापना

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। दक्षिण कोरियामा रहेका युवाहरू तथा विद्यालयका पूर्वविद्यार्थीहरूको सहयोगमा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि अक्षयकोष स्थापना गरिएको हो।

गरिब, दलित तथा मुक्त कमैयाका छोराछोरी अध्ययनरत रहेको यस विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूले अक्षयकोष स्थापनाका लागि २ लाख १० हजार रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, स्थानीय, समाजसेवी तथा शिक्षक–शिक्षिकाहरूबाट समेत सहयोग जुटाउँदा ५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको विद्यालयले जनाएको छ।

अक्षयकोष स्थापनार्थ सहयोग गर्ने दाताहरूको नामावली तथा विवरण समेटिएको शिलालेखसमेत अनावरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले उक्त शिलालेखको समुद्घाटन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोष निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

गरिब, दलित तथा मुक्त कमैया परिवारका बालबालिकाले अध्ययन गर्ने यस विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अक्षयकोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको र विदेशमा रहेका युवाहरू, पूर्वविद्यार्थी, स्थानीय समाजसेवी तथा शिक्षक–शिक्षिकाले गरेको सहयोग प्रशंसनीय योग्य रहेको बताउनु भयो ।

साथै विद्यालयको विकासका लागि सबै पक्षले निरन्तर सहयोग र सहकार्य गर्न आवश्यक रहेको जानकारी गराउनु भयो ।

विद्यालयको भौतिक पूर्वाधार विकाससँगै आर्थिक रूपमा विपन्न विद्यार्थीको शैक्षिक निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको अक्षयकोषले विद्यालयको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। उक्त कार्यक्रमको सभाध्यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह पुजाराले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.