महेन्द्रनगर । गत भाद्र १० गते रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएका डडेल्धुराको आलिताल गाउँपालिका–७ का एकै घरका तीन दाजुभाइ दीपक, राजेश र किरण घर्तीको आज कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
बाढीपछि सम्पर्कविहीन भएका तीनै दाजुभाइको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।
एउटै घरमा सँगै हुर्किएका र जीवनका अनेक खुसी तथा दुःख सँगै बाँडेका तीन दाजुभाइको एकैसाथ अन्तिम बिदाइ गर्नुपर्दा परिवार शोकमा डुबेको छ। आफ्ना प्रियजनको शवसमेत देख्न नपाई अन्त्येष्टि गर्नुपर्ने अवस्थाले परिवारको पीडा थप गहिरिएको छ।
फर्केर आउने आशा बोकेर बसेको परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपरेको हो। तीन दाजुभाइको एकैसाथ भएको बिछोडले परिवारमा मात्र नभई सिंगो गाउँमा शोक छाएको छ।
यसअघि पनि रसुवाको बाढीमा बेपत्ता भएका आलिताल गाउँपालिका–८ का चन्द्रबहादुर घर्तीमगरको कुशको शव बनाएर अन्त्येष्टि गरिसकिएको छ।
त्यस्तै, आलिताल गाउँपालिका–३ बाट बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारजन भने अझै डीएनए परीक्षणको रिपोर्टको प्रतीक्षामा छन्। आफन्तको अवस्थाबारे यकिन जानकारी पाउन नसक्दा उनीहरू अन्योल र पीडामा दिन बिताइरहेका छन्।
रसुवास्थित भोटेकोशी नदीमा आएको हिमपहिरो र बाढीका कारण लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका ११ जना कामदार सम्पर्कविहीन भएका थिए। तीमध्ये आलिताल गाउँपालिका–३ का मात्रै सात जना नागरिक बाढीपछि बेपत्ता भएका छन्।
Comments are closed.