९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तद्वारा ‘भागेश्वर महिमा लोक गाथा’ पुस्तक प्रकाशन

महेन्द्रनगर । ९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्त ‘गर्ग’ ले लेख्नुभएको ‘भागेश्वर महिमा लोक गाथा’ नामक पुस्तकको विमोचन गरिएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–४, विव्यावती डुगरी जन्मस्थान भएका तथा हाल कञ्चनपुरको वेदकोट नगरपालिका–६, सिसैयामा बसोबास गर्दै आउनुभएका पण्डित पन्तद्वारा लिखित पुस्तकको वेदकोट नगरपालिकामा आयोजित एक कार्यक्रमबीच विमोचन गरिएको हो। पुस्तक विमोचन कार्यक्रमको अध्यक्षता समाजसेवी लक्ष्मीदत्त बोहराले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न विद्वान् व्यक्तित्व, लेखक, साहित्यप्रेमी तथा लेखक पन्तका परिवारका सदस्यहरूको सहभागिता रहेको थियो। ‘भागेश्वर महिमा लोक गाथा’ पुस्तकमा भागेश्वर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई समेटिएको छ । पुस्तकमा श्री भागेश्वर महिमा इतिहास, भाद्र १ गतेको ओल्के संक्रान्ति, रामचन्द्र धुनी, पाण्डव धुनी महाभारत अन्तर्गत, कृष्ण धुनी भागवत अन्तर्गत, श्री भागेश्वर धुनी चैन धुमारी तथा पैकेला जोधाको इतिहास लगायतका विषय समेटिएका छन्। त्यस्तै, नारद पनेरु, बिका पनेरु, दिपा रजवार धुमारी, खपरे दैत्य धुमारी, गुजर चेली ठाकुर रौतेला धुमारी, भग्गालिंग भागेश्वर, शिवालिंग चैत धुमारी र मालिकाको धुमारी लगायतका लोकगाथा तथा सांस्कृतिक रचनाहरू पनि पुस्तकमा समावेश गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वेदकोट नगरपालिका नगर प्रमुख भोजराज बोहराले ९७ वर्षको उमेरमा पण्डित शिवदत्त पन्तले ‘भागेश्वर महिमा लोक गाथा’ जस्तो महत्वपूर्ण कृति तयार पार्नु आफैँमा प्रशंसनीय र प्रेरणादायी कार्य भएको बताउनुभयो ।उहाँले पुस्तकमा भागेश्वर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वसँगै स्थानीय लोकगाथा र मौलिक परम्परालाई समेटिएको उल्लेख गर्दै यस्ता कृतिले सुदूरपश्चिमको कला, संस्कृति र इतिहास संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

नगर प्रमुख बोहराले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, भाषा, परम्परा र इतिहासबारे जानकारी गराउन यस्ता पुस्तकको अध्ययन तथा संरक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
लेखकका सुपुत्र नेत्रप्रसाद पन्तले बुबाले ९७ वर्षको उमेरमा पनि आफ्नो जन्मभूमि भागेश्वर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई समेटेर पुस्तक प्रकाशन गर्नुभएकोमा आफूहरू गौरवान्वित भएको बताउनुभयो ।

उहाँले बुबाले लामो समयदेखि संकलन गर्दै आउनुभएका विभिन्न लोकगाथा, धुमारी, धार्मिक स्थल तथा ऐतिहासिक विषयवस्तुलाई पुस्तकका रूपमा प्रस्तुत गरिएको जानकारी दिनुभयो । पन्तले भागेश्वर क्षेत्रका मौलिक लोकसंस्कृति, परम्परा र इतिहास पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताउँदै पुस्तक भावी पुस्ताका लागि समेत उपयोगी दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पुस्तक प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, विद्वान् तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो। ९७ वर्षको उमेरमा पण्डित पन्तले आफ्नो जन्मभूमि भागेश्वर क्षेत्रको धार्मिक तथा सांस्कृतिक इतिहास, लोकपरम्परा र लोकगाथालाई पुस्तकका रूपमा अभिलेखीकरण गर्नुभएको भन्दै सहभागीहरूले उहाँको प्रयासको प्रशंसा गरेका थिए । पुस्तकले सुदूरपश्चिमको मौलिक लोकसंस्कृति, धार्मिक आस्था र इतिहासलाई भावी पुस्तासम्म पु¥याउन योगदान गर्ने विश्वास व्यक्त गरिएको थियो ।

सम्बन्धित

Comments are closed.