महेन्द्रनगर । कञ्चनपुर ३ प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको हवाई उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता तत्काल हटाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद महताले आफ्नै परिवारका सदस्यले भोगेको स्वास्थ्य संकटको अनुभव सुनाउँदै राज्यको विद्यमान आपत्कालीन उद्धार प्रणालीमाथि प्रश्न उठाएका हुन्।
महताका अनुसार भदौ ६ गते उनकी भाइबुहारीलाई सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकको सल्लाहअनुसार भदौ ७ गते शल्यक्रिया गरी छोरी जन्मिए पनि त्यसपछि आमाको स्वास्थ्य अवस्था अचानक जटिल बनेको थियो। शल्यक्रियापछि मुटुको चाल रोकिएपछि उनलाई भेन्टिलेटरमा राखिएको र थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएको महताले बताए।
बिरामीको उद्धारका लागि आफूले स्वास्थ्य, महिला तथा बालबालिका र गृह मन्त्रालयमा सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल सहयोग प्राप्त हुन नसकेको उनले संसदमा बताए। त्यसपछि सभामुखको कार्यकक्षमा पुगेर अवस्थाबारे जानकारी गराउँदा सभामुखले तत्काल स्वास्थ्य मन्त्रीसँग फोनमार्फत उद्धारको व्यवस्था गर्न आग्रह गरेको महताले बताए।
तर विभिन्न सरकारी निकायसँग समन्वय गर्दा कानुनी जटिलताका कारण तत्काल हेलिकप्टर उद्धार गर्न नसकिने जवाफ पाएको उनको भनाइ छ।त्यसप्रति प्रश्न उठाउँदै महताले भने, “त्यो क्षणमा मेरो अगाडि एउटै प्रश्न थियो– कानुन ठूलो कि एउटा नागरिकको जीवन ”उनले आफूले कुनै विशेष सुविधा माग नगरेको स्पष्ट पार्दै गम्भीर बिरामीको जीवन बचाउन समयमै उपचार पाउने अधिकारका लागि मात्र पहल गरेको बताए।
सरकारी प्रक्रियाबाट तत्काल उद्धार सम्भव नभएपछि निजी क्षेत्रको हेलिकप्टरमार्फत उद्धारको विकल्प खोजिएको उनले जानकारी दिए। काठमाडौँस्थित मेडिसिटी अस्पतालको टोलीले महाकाली अस्पतालका चिकित्सकसँग निरन्तर समन्वय गर्दै उद्धारका लागि तयारी गरेको उनले बताए।
सीमित स्रोतसाधनका बीच गेटा र महाकाली अस्पतालका चिकित्सकहरूले बिरामीको स्वास्थ्यमा सुधार ल्याउन निरन्तर प्रयास गरिरहेको भन्दै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिए।महताले आफू संघीय सांसद भएर राज्यका विभिन्न निकायसम्म प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि गम्भीर बिरामीको तत्काल हवाई उद्धार गराउन अनेकौँ तह र प्रक्रिया पार गर्नुपरेको उल्लेख गर्दै सामान्य नागरिकको अवस्थाबारे प्रश्न उठाए।
“म एक जना संघीय सांसद भएर राज्यका विभिन्न निकायसम्म प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि एउटा गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गराउन यति धेरै तह र प्रक्रिया पार गर्नुपर्ने अवस्था आयो भने सामान्य नागरिकले यस्तो परिस्थितिमा के गर्नेरु” उनले प्रश्न गरे।
विशेषगरी दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि आपत्कालीन स्वास्थ्य उद्धारको प्रभावकारी व्यवस्था आवश्यक रहेको उनले बताए।महताले चिकित्सकीय प्रमाण र सम्बन्धित अस्पतालको सिफारिसका आधारमा आपत्कालीन हवाई उद्धारको निर्णय तत्काल गर्न सकिने स्पष्ट व्यवस्था बनाउनुपर्ने माग गरे। साथै स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा निजी हेलिकप्टर कम्पनीबीच चौबीसै घण्टा समन्वय हुने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ।
सुदूरपश्चिमजस्ता भौगोलिक रूपमा दुर्गम क्षेत्रमा गम्भीर बिरामीको उद्धारका लागि आवश्यक हवाई साधन र पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।महताले आपत्कालीन स्वास्थ्य उद्धारसँग सम्बन्धित विद्यमान कानुनी तथा प्रक्रियागत व्यवस्थाको तत्काल पुनरावलोकन गरी आवश्यक संशोधन गर्न र नागरिकको जीवन बचाउने कार्यमा अनावश्यक प्रक्रियागत अवरोध नआउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
“मानव जीवनभन्दा ठूलो कुनै प्रक्रिया हुन सक्दैन। मानव जीवनभन्दा ठूलो कुनै नियम हुन सक्दैन। कानुन र नियम नागरिकको जीवन सहज बनाउनका लागि हुन्, जीवन बचाउने बाटो छेक्नका लागि होइनन्,” महताले भने।
Comments are closed.