कञ्चनपुरका सक्रिय पत्रकार सुजित सिनाल सम्मानित

महेन्द्रनगर । द्वन्द्वपीडित तथा एकल महिलाका सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएको भन्दै कञ्चनपुरका सक्रिय पत्रकार सुजित रमेश सिनाल सम्मानित भएका छन्।
शुक्रबार महेन्द्रनगरमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको १९औँ वार्षिक उत्सव तथा साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा शुक्लाफाँटा एफ।एममा कार्यरत पत्रकार सिनाललाई सम्मान गरिएको हो।
संस्थाकी अध्यक्ष सीता बोहराले पत्रकार सिनाललाई दोसल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गरेकी हुन्। द्वन्द्वपीडित तथा एकल महिलाका समस्या, अधिकार, सामाजिक सुरक्षा तथा सशक्तीकरणका विषयलाई सञ्चार माध्यम मार्फत निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको योगदानको कदर स्वरूप उनलाई सम्मान गरिएको अध्यक्ष बोहराले बताइन्।

अध्यक्ष बोहराका अनुसार द्वन्द्वका कारण प्रभावित भएका महिला तथा एकल महिलाका सवाललाई सार्वजनिक बहसमा ल्याउन संञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ। यस्ता विषयमा पत्रकारिता क्षेत्रबाट निरन्तर खबरदारी र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको उनले बताइन्।

सम्मानपछि पत्रकार सिनालले संस्थाले आफ्नो कामको उचित मूल्यांकन गर्दै सम्मान गरेकोमा आभार व्यक्त गरे। उनले सम्मानले आगामी दिनमा द्वन्द्वपीडित, एकल महिला तथा महिलासँग सम्बन्धित सवाललाई अझ प्रभावकारी रूपमा संञ्चार माध्यममा उठाउन थप हौसला मिलेको बताए।

उनले महिलाका अधिकार, सामाजिक सुरक्षा, आर्थिक सशक्तीकरण तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधामा पहुँचका विषयलाई आगामी दिनमा पनि प्राथमिकताका साथ उठाउँदै जाने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी, संस्थाले द्वन्द्वपीडित तथा एकल महिलाका सवालमा विभिन्न क्षेत्रमा रहेर उल्लेखनीय योगदान पुर्‍याउने अन्य चार जनालाई समेत सम्मान गरेको अध्यक्ष बोहराले जानकारी दिइन्।

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले लामो समयदेखि द्वन्द्वपीडित तथा एकल महिलाको सामाजिक, आर्थिक र अधिकार सम्बन्धी सवालमा काम गर्दै आएको छ। संस्थाले प्रभावित महिलाको क्षमता विकास, आयआर्जन, सामाजिक पुनःस्थापना तथा अधिकारका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

वार्षिक उत्सव तथा साधारण सभाका अवसरमा संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना, द्वन्द्वपीडित तथा एकल महिलाका प्राथमिकता र संस्थाको भावी कार्यक्रमका विषयमा समेत छलफल गरिएको थियो।

सम्बन्धित

Comments are closed.