निड्सको सहयोगपछि भीमदत्त–७ की पार्वती खत्री व्यावसायिक बाख्रापालनमा सफल

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था निड्स नेपालको सहयोग पाएपछि भीमदत्त नगरपालिका–७ की पार्वती खत्री व्यावसायिक बाख्रापालनमा सक्रिय हुनुभएको छ। परम्परागत रूपमा बाख्रापालन गर्दै आउनुभएकी खत्री अहिले आधुनिक तथा व्यावसायिक तरिकाले बाख्रापालन गर्दै राम्रो आम्दानी गर्ने किसानका रूपमा स्थापित हुँदै जानुभएको छ।

कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोग तथा अक्सफाम र निड्स नेपालको साझेदारीमा सञ्चालित ‘इम्पावरिङ हर’ परियोजनामार्फत सुधारिएको खोर निर्माणका लागि आवश्यक सामग्री, १४ वटा साना बाख्राका पाठापाठी र एउटा उन्नत जातको बोका सहयोग पाएपछि उहाँले व्यावसायिक रूपमा बाख्रापालन सुरु गर्नुभएको हो। संस्थाले दिएको सहयोग र आफ्नो मेहनतबाट अहिले उहाँको खोरमा साना–ठूला गरी ३० वटा बाख्रा तथा पाठापाठी पुगेका छन्।

संस्थाले सञ्चालन गरेको व्यवसाय छनोटसम्बन्धी तालिममा सहभागी हुँदा खत्रीले बाख्रापालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने योजना सुनाउनुभएको थियो। उहाँको रुचि र योजनालाई मध्यनजर गर्दै संस्थाले बाख्रा तथा खोर सुधारका लागि आवश्यक सामग्री सहयोग गरेको थियो।

पहिले पनि परम्परागत रूपमा बाख्रापालन गर्दै आउनुभएकी खत्रीले उचित स्याहारसुसार, राम्रो जातका बाख्राको अभाव र रोगका कारण बाख्रा मर्ने तथा तौल कम हुने समस्या भोग्नुभएको थियो। त्यसपछि बाख्रापालन नै छोड्ने सोचमा पुग्नुभएकी उहाँलाई संस्थाले दिएको तालिम र सहयोगले पुनः व्यावसायिक रूपमा अघि बढ्ने हौसला प्रदान गरेको छ।

“विगतदेखि नै बाख्रा पाल्दै आए पनि राम्रो जातका बाख्रा नहुने, मर्ने र तौल पनि कम हुने समस्या थियो। त्यसपछि बाख्रा नै नपाल्ने सोच बनाएकी थिएँ। पछि संस्थाले तालिम दिएपछि फेरि बाख्रापालन गर्ने सोच आयो र ऊर्जा थपियो”, खत्रीले भन्नुभयो, “सुधारिएको खोर निर्माणका लागि जस्तापाता, तारजाली र फलामका खम्बासमेत सहयोग पाएपछि झनै हौसला बढ्यो।”

अहिले खत्रीले बाख्रा, बोका तथा पाठापाठीको सङ्ख्या बढाएर ३० पुर्‍याउनुभएको छ। उहाँका अनुसार अहिले व्यापारीहरू बाख्रा खरिद गर्न घरमै आउने गरेका छन्। बिक्रीयोग्य बोका तथा खसीको मूल्य ३५ देखि ४० हजार रुपैयाँसम्म पर्ने गरेको उहाँले बताउनुभयो। करिब छ महिनाको अवधिमा निरन्तर मेहनत र लगनशीलताका कारण उहाँले लाखौँ रुपैयाँ मूल्य बराबरको बाख्रापालन व्यवसाय विस्तार गर्न सफल हुनुभएको छ।

निड्स नेपालका परियोजना संयोजक नवीन भट्टले संस्थाबाट सहयोग प्राप्त गरेका किसानमध्ये पार्वती खत्रीको बाख्रापालन व्यवसाय उत्कृष्ट रहेको बताउनुभयो। उहाँले खत्रीको लगनशीलता, मेहनत र व्यवसायप्रतिको प्रतिबद्धताका कारण छोटो समयमै उल्लेखनीय प्रगति हासिल भएको उल्लेख गर्नुभयो।

संस्थाबाट प्राप्त सामान्य सहयोगलाई सही सदुपयोग गर्दै मेहनत र लगनशीलताका साथ अघि बढेमा महिलाहरू पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण पार्वती खत्री बन्नुभएको छ। उहाँको सफलताले ग्रामीण क्षेत्रमा व्यावसायिक पशुपालनमार्फत महिलाको आर्थिक सशक्तीकरण र जीविकोपार्जनमा सुधार ल्याउन सकिने सम्भावनालाई समेत उजागर गरेको छ।

सम्बन्धित

Comments are closed.