महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था निड्स नेपालले सञ्चालन गर्दै आएको परियोजनाअन्तर्गतका कार्यक्रमहरूको संयुक्त अनुगमन गरेको छ। कोइका र अक्सफामको सहयोगमा निड्स नेपालद्वारा सञ्चालित ‘इम्पावरिङ हर’ कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेका विभिन्न गतिविधिको अनुगमन गरिएको हो।
उक्त संयुक्त अनुगमनमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरे, निड्स नेपालकी अनुगमन समिति संयोजक बिमला शाह, कार्यसमिति कोषाध्यक्ष बिनिता लुहार, परियोजना संयोजक नवीन भट्टलगायत परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
भीमदत्त नगरपालिकाका वडा नम्बर ३ र ७ मा पुगेर विपन्न तथा पछाडि पारिएका महिलाहरूले सञ्चालन गर्दै आएका बाख्रापालन र व्यावसायिक तरकारी खेतीको अनुगमन गरिएको निड्स नेपालले जनाएको छ। परियोजनामार्फत महिलाहरूको आर्थिक अवस्था सुधार, आयआर्जन वृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन भइरहेका गतिविधिको स्थलगत अवलोकन गरिएको हो।
अनुगमनका क्रममा महिलाहरूले गर्दै आएको कृषि तथा पशुपालन व्यवसायको अवस्था, परियोजनाबाट प्राप्त सहयोग र त्यसले उनीहरूको जीविकोपार्जनमा पारेको प्रभावबारे जानकारी लिइएको थियो।उपप्रमुख निलम लेखक जोशीले विपन्न तथा पछाडि पारिएका महिलाहरूलाई आयआर्जनसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
उहाँले महिलाहरूले बाख्रापालन तथा तरकारी खेतीमार्फत आम्दानी गर्न थालेको देख्दा खुसी लागेको उल्लेख गर्दै स्थानीय सरकारले पनि महिला सशक्तीकरण र उद्यमशीलता विकासका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने बताउनुभयो। उहाँले परियोजनाबाट प्राप्त सहयोगलाई सही सदुपयोग गर्दै व्यवसायलाई निरन्तरता दिन र थप विस्तार गर्न महिलाहरूलाई आग्रह गर्नुभयो।
साथै, यस्ता कार्यक्रमले महिलाहरूको आर्थिक अवस्था सुधार गर्नुका साथै परिवारको जीवनस्तर उकास्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। निड्स नेपालका परियोजना संयोजक नवीन भट्टले कोइका र अक्सफामको सहयोगमा सञ्चालित ‘इम्पावरिङ हर’ परियोजनामार्फत विपन्न तथा पछाडि पारिएका महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा जोड दिइएको बताउनुभयो।
उहाँले परियोजनाअन्तर्गत महिलाहरूलाई बाख्रापालन, तरकारी खेतीलगायत आयआर्जनमूलक गतिविधिमा संलग्न गराई आत्मनिर्भर बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो।उहाँका अनुसार परियोजनाले महिलाहरूको सीप तथा क्षमता विकाससँगै व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग र प्राविधिक परामर्शसमेत प्रदान गर्दै आएको छ।
परियोजनाबाट महिलाहरूको आम्दानी वृद्धि हुनुका साथै उनीहरूमा उद्यमशीलताको भावना विकास भएको उहाँले बताउनुभयो।उहाँले आगामी दिनमा पनि परियोजनाका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै बढीभन्दा बढी महिलालाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। बाख्रापालन गर्दै आउनुभएकी पार्वती थापाले निड्स नेपालबाट प्राप्त सहयोगले आफ्नो व्यवसाय विस्तार गर्न सहज भएको बताउनुभयो।
उहाँका अनुसार संस्थाले १४ वटा साना उन्नत जातका पाठी र एउटा ठूलो जातको बोका उपलब्ध गराउनुका साथै सुधारिएको बाख्राको खोर निर्माणका लागि जस्तापाता, तारजाली र फलामका खम्बासमेत सहयोग गरेको छ।उहाँले संस्थाबाट प्राप्त सहयोगपछि बाख्रापालन व्यवसायप्रति थप उत्साह बढेको उल्लेख गर्दै यसबाट आम्दानीको स्रोत वृद्धि हुनुका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
साथै, आगामी दिनमा बाख्राको सङ्ख्या बढाउँदै व्यावसायिक रूपमा बाख्रापालन गर्ने आफ्नो योजना रहेको बताउनुभयो। अनुगमनले परियोजनाअन्तर्गत सञ्चालन भइरहेका गतिविधिको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Comments are closed.