कञ्चनपुरमा गरिब तथा असहाय नागरिकलाई लक्षित गरी २० रुपैयाँमै पेटभरि खाना खुवाउने अभियानको थालनी गरिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई न्यून शुल्कमा खाना उपलब्ध गराउने उद्देश्यसहित महेन्द्रनगरमा श्री प्रशादमको ट्रस्ट भवन निर्माणको शिलान्यास गरिएको हो।
ऋषिकेश पीठ धर्म संरक्षण तथा सम्बर्द्धन समिति नेपालको अगुवाइमा श्री प्रशादम महेन्द्रनगर शाखाको ट्रस्ट भवन निर्माण गर्न लागिएको हो। उक्त भवनको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले शिलान्यास गर्नुभएको छ।
भवन निर्माणको काम एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको समितिका सदस्य डा. सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो। भवन निर्माण सम्पन्न भएपछि आर्थिक अवस्था कमजोर भएका, गरिब तथा असहाय नागरिकलाई २० रुपैयाँमै पेटभरि खाना खुवाउने व्यवस्था गरिने उहाँले बताउनुभयो।
उक्त भवन निर्माण तथा सेवा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत दान तथा चन्दामार्फत जुटाइने जनाइएको छ। आर्थिक अभावका कारण छाक टार्नसमेत समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी सुरु गरिएको यस अभियानले विपन्न तथा असहाय व्यक्तिहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
सामाजिक सेवाको भावनासहित अघि बढाइएको यस अभियानले मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र आपसी सद्भावको उदाहरण प्रस्तुत गर्ने विश्वास लिइएको छ।
Comments are closed.