भीमदत्त –९ मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ४ सय बढीले लिए सेवा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटैना रामटोलमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ४ सय ६ जनाले सेवा लिएका छन्। आँखा परीक्षणका क्रममा ४५ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ।

शनिबार मालिकार्जुन आधारभूत विद्यालयको प्राङ्गणमा लायन्स क्लब अफ महाकाली इन्जिनियर्स महेन्द्रनगर र नेपाल नेत्रज्योति संघ गेटा–महेन्द्रनगर आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।

शिविरमा दुई वर्षका बालबालिकादेखि ९५ वर्षसम्मका ज्येष्ठ नागरिकले आँखाको परीक्षण तथा उपचार सेवा लिएका छन्। शल्यक्रिया गर्नुपर्ने देखिएका ४५ जनालाई थप उपचारका लागि महेन्द्रनगर आँखा अस्पताल बोलाइएको आयोजकले जनाएको छ।

शिविरका पहलकर्ता एवं स्थानीय समाजसेवी युवा दिपेन्द्रसिंह ऐरीका अनुसार ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै आँखासम्बन्धी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

नेपाल नेत्रज्योति संघ गेटा–महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीरसिंह धामीसहितको स्वास्थ्यकर्मी टोली, लायन्स क्लबका पदाधिकारी र स्थानीयको सहकार्यमा शिविर सञ्चालन गरिएको उनले बताए।

ग्रामीण भेगका नागरिकले आफ्नै गाउँमा आँखा परीक्षण तथा उपचार सेवा पाएपछि खुसी व्यक्त गरेका छन्। आँखा अस्पतालका अध्यक्ष डा। भोजराज पन्तले पनि शिविरले नागरिकको आँखासम्बन्धी समस्या पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुर्‍याएको बताएका छन्।

सम्बन्धित

Comments are closed.