महेन्द्रनगर । कञ्चनपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।भीमदत्त नगरपालिकाको आयोजना तथा गैरसरकारी संस्था महासंघ नेपालको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।कार्यक्रममा लैङ्गिक हिंसाको अवस्था, यसको न्यूनीकरणका लागि भइरहेका प्रयास, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो ।

भीमदत्त नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुशील भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा लैङ्गिक हिंसा अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो ।

साथै हिंसापीडितलाई सुरक्षित वातावरण प्रदान गर्ने, पीडितको संरक्षण गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने तथा पीडितले न्याय पाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
सभाध्यक्ष सुशील भट्टले लैङ्गिक हिंसा समाजको साझा समस्या भएकाले यसको अन्त्यका लागि सबै पक्ष एकजुट भएर लाग्न आवश्यक रहेको बताउनु भयो । महिला, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि, कानुनी सचेतना र पीडितलाई न्यायमा पहुँच पुर्याउने कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान केवल १६ दिनमा सीमित नभएर सधै महिलाहरुलासम्मान गर्नुपर्ने बताउनु भयो । वर्षभरि नै समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै हिंसाविरुद्ध आवाज उठाउनुपर्छ । हिंसामा परेका व्यक्तिहरूले समाजको डर, लाज वा विभिन्न दबाबका कारण पीडा लुकाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।
पीडितलाई संरक्षण र न्याय दिलाउन स्थानीय सरकार, प्रहरी, गैरसरकारी संस्था तथा सम्पूर्ण समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ रहेको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता कायम गर्ने लक्ष्य राखेको छ ।
आज नेपालसहित संसारभर महिलामाथिको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। आजैदेखि लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू हुँदै छ।
Comments are closed.