सेती नदीले बर्सेनि कटान गर्दा डोटीका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा परेको छ ।
नदीले बर्सेनि धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेपछि जोखिम बढेको हो । वर्षासँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले कति बेला बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्न थालेको शिखर नगरपालिका–११ बारपाटाका गणेश विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँका बस्ती कहीँ नदीले कटान गर्दैछ त कहीँ बाढी र पहिरोको उच्च जोखिममा छन्, राति ठूलो पानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निद्रासम्म पर्दैन ।” जिल्लाको शिखर नगरपालिकाको वडा नं. १० बनलेग र वडा नं. ११ बारपाटामा बर्सेनि वर्षाको समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ । सेती नदीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बारपाटा गाउँका बासिन्दा बताउँछन् ।
सेतीनदी किनारमा रहेका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, घोलतडा नारिदाङलगायतका बस्तीमा जमिन नदीले कटान गर्न थालेको भए पनि समयमै सम्बन्धित निकायले रोकथामका लागि पहल नगर्दा समस्या हुन थालेको अर्का स्थानीय देवबहादुर धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नदीले धार परिवर्तन गरेर दैनिक खेतबारी बगाउन थालेको छ रोकथामका लागि कहीँकतैबाट पहल भएको छैन ।” वर्षात्कै कारण जिल्लाका ग्रामीण क्षेत्रका एक दर्जन बढी सडक अवरुद्ध भएका छन् ।
जिल्लाका विभिन्न २२ वटा ठाउँलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखेर प्रतिसमुदायमा १२ जनालाई उद्धारकर्ताको तालीम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासङ्घका महासचिव देवबहादुर बोहराले बताउनुभयो ।
सेती नदीकाे कटानले जाेखिममा बर्बटा गाउँ
उहाँले भन्नुभयो, “कुनै प्रकोप भइहाले पहिलो उद्धारकर्ताको रुपमा काम गर्न जिल्लाका नौवटै पालिकाका जोखिमयुक्त समुदायका व्यक्तिलाई तालीम दिई परिचालन गरिएको छ, विपद् परिहाले हामी तत्काल खटिने छौँ ।”
जिल्लाको कति प्रतिशत भूभाग पहिरोको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क भने कसैसँग पनि छैन । उच्च पहाडी तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाको आधारमा जोखिमयुक्त ठाउँ पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो ।
वि.सं. २०७२ साउन २३ गते ठू्लो पानी पर्दा खसेको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँच जनासहित छ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो ।
Comments are closed.