कोरोना भाईरसको परीक्षण गर्ने पिसिआर मेशिन जडान कार्य जिल्ला अस्पताल डोटीमा पूरा भएको हो ।
मेशिनको जडान कार्य पूरा भएसँगै सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टद्धारा समुद्घाटन गरिएको हो ।
गएको चैत्र १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रि परिषदको निर्णय अनुसार डोटी, बैतडी र कञ्चनपुरमा पिसिआर मेशिन सहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो । जस अनुसार झण्डै ४ महिनापछि गत श्रावण १४ गते डोटीमा भित्रिएको सो मेशिन ढिलै भए पनि जडान भएको छ ।
गत श्रावण २० गते नै उक्त मेशिन जडान गरी सेवा सूचारु गर्ने भनिएको भए पनि प्राविधिक जनशक्ति ढिलो आउँदा जडान कार्यमा पनि ढिलाई भएको हो । डोटीको मेशिन जडान पश्चात परीक्षण नतिजाको वैधता जाँचका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण गरिसकिएका १०÷१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वावहरु सोमबार परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमूख रमेश शाहीले बताए ।
सोहि नमूना परीक्षणका आधारमा नतिजा सहि आए परीक्षण कार्यलाई अगाडी बढाईने र नतिजा फरक आएमा सुधार गरेर अगाडी बढ्ने डडेल्धुरा अस्पतालका ल्याब इञ्चार्ज इश्वरी भुषालले बताए ।
मेशिन सञ्चालनका लागि जिल्ला अस्पताल डोटीकै ५ जनालाई प्राविधिक सीपका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरा अस्पतालमा तालिम दिएर तयारी अवस्थामा राखिएको जिल्ला अस्पताल डोटीका यज्ञराज अध्यक्ष जोशीले बताए । बैतडीमा पनि पिसिआर मेशिन जडान कार्य भईरहेको तर सेवा सुचारु गर्न भने केहि समय लाग्ने र कञ्चनपुरका लागि भने मेशिन जडानको कुनै सुरसार नरहेको जनाईएको छ ।
Comments are closed.