तिन तहका सरकार विच समन्वय नभईरहेको गुनासो आएका बेला सरोकारवालाहरुबिच छलफल

 सुदुरपश्चिम प्रदेशमा कोरोनाका संक्रमित दिनानु दिन बढ्न थालेका छन् । जनता अक्सिजन अभावमा तड्पीरहेका छन् । यहि बेला तीन तहको सरकार बिच समन्वयको अभाव भइरहेको भन्ने जनगुनासो बढेपछि कैलाली उद्योग बाणिज्य संघले सरोकारवालाहरुसँग सोमबार छलफल गरेको छ । योजना बनाएर एकद्धार प्रणालीबाट कोरोना रोकथाममा जुट्न र कोरोना रोकथाममा समन्वय गरेर अघि बढ्न आग्रह गर्दै सरोकारवालाहरुसँग छलफल गरिएको उद्योग बाणिज्य संघ कैलालीले जनाएको छ । सो छलफल कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश सरकारका प्रबत्ता प्रकाश बहादुर शाहले प्रदेश सरकारले कोष स्थापना गरेर कोरोना रोकथामका लागि विभिन्न कामहरु गर्दै आइरहेको बताउनुभएको छ । उहाले हाल सम्म प्रदेश सरकारले ६९ करोड रुपैयाँ प्रदेशको कोरोना रोकथाम तथा न्यूनिकरणका लागि खर्च गरिसकेको बताउनुभएको छ ।

 संघीय सरकारसँग प्रदेश सरकारको कुनै पनि विवाद नरहेको भन्दै उहाले समन्वयका लागि प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ । सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकारले सुरुवातबाटै कोरोना रोकथामका लागि थुप्रै कामहरु सुरु गर्न खोजेको भएपनि स्वास्थ्य सामाग्री खरिद प्रकृया ढिलो हुनु र मन्त्रालयका कर्मचारीहरुको ढिलासुस्तीका कारण अपेक्षित रुपमा प्रदेश सरकारको काम देखिन नसकेको बताउनु भयो । नागरिक समाज कैलालीका संयोजक प्रमोद पाठकले यो समय एकले अर्कोलाई दोषआरोप लगाउन भन्दा सबै मिलेर जनताको ज्यान कसरी जोगाउने भन्ने तर्फ केन्द्रित गर्नुपर्ने बताउनु भयो । सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले बेड अभावमा सेतीमा आएका विरामीलाई अस्पताल बाहिर राखेर पनि उपचार गरिरहेको बताउनु भयो ।

 तर, ति बिरामीहरुलाई अहिले तत्काल अक्सिजनको अति आवस्यकता देखिएको बताउनु भयो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर हेमराज पाण्डेले कोरोना संक्रमित र अन्य विरामीको एकै अस्पतालमा राखेर उपचार गर्दा कोरोनाको संक्रमण बढेर जाने खतरा बढिरहेकोले कोरोना विरामीलाई गेटा मेडिकल कलेजमा राख्ने प्रबन्ध मिलाउन ती वटै तहकै सरकार लाग्न पर्ने बताउनु भयो । उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले अहिले देश महामारीसँग जुधिरहेका बेला तीन तहका सरकारबिच समन्वय अभाव हुँदा मार जनतामा परिरहेको बताउनु भयो । उहाले तीन तहको समन्वयका लागि सोमबार सबै निकायलाई राखेर छलफल गरिएको बताउनु भयो । छलफलबाट अब सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि थप प्रयासहरु कसरी अघि बढाउने भन्ने कुराको निष्कर्षमा पुगिने उहाको भनाई छ । सुदुरपश्चिम प्रदेशमा अहिले पनि दिनानुदिन कोरोनाका नयाँ संक्रमित भेटिने क्रम तिब्र भइरहेको छ । भारतबाट आएकाहरु प्नि सिधै घर गइरहेकोले जोखिम अझै बढेर जाने चिन्ता सर्वसाधारणमा बढिरहेको देखिन्छ । यो बेला तीन तहको सरकार समन्वय गरेर अघि बढ्न आवस्यक रहेको समाजका बुद्धजिवी र कतिपय सर्वसाधारणहरुले बताएका छन् ।

सम्बन्धित

Comments are closed.