कञ्चनपुरमा रहेका दुई वटा पालिकाहरुले वडा स्तरमै गएर एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्ने कार्य सुरु,

 कञ्चनपुरमा रहेका दुई वटा पालिकाहरुले वडा स्तरमै गएर एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्ने कार्य सुरु गरेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा वडा स्तरमै गएर नगरवासीहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी रहेका हुन् । स्वास्थ्य कार्यालय कञ्चनपुरसंगको समन्वयमा वेदकोट नगरपालिकाका प्रत्येक वडामा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण भइ रहेको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरीषा पालले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार वेदकोट नगरपालिकाका १० वटै वडामा रहेका कोरोना संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरु, कोरोनाका लक्षणसंग मिल्दाजुदा लक्षण देखिएकाहरुको तथा कोरोना संक्रमितहरुका परिवारका सदस्यहरुको एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको छ ।

 वेदकोट नगरपालिकाका विभिन्न वडाका ७८ जनाको वडास्तरमै गएर एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पालले बताउनु भयो । स्वास्थ्य कार्यालय कञ्चनपुरले एन्टिजेन कीट उपलब्ध गराएको र वेदकोट नगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले वडा स्तरमै पुगेर कोरोनाको परीक्षण गर्ने गरेका उहाले बताउनु भयो । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि कोरोना संक्रमितहरुको सम्पर्कमा आएका संक्रमितहरुका परिवारका सदस्य तथा अन्य सम्पर्कमा आएकाहरु, कोरोनाको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण भइ रहेको भीमदत्त नगरपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख, जनस्वास्थ्य निरीक्षक नरेन्द्रराज जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । साथै भीमदत्त नगरपालिकामा कुनै व्यक्तिले कुनै पनि लक्षण बिना नै कोरोनाको परीक्षण गराउन चाहेमा तिनको पनि एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको उहाले बताउनु भयो । कोरोनाका सबै संक्रमितहरुमा लक्षण नदेखिने भएकाले लक्षण नदेखिएकाहरुको समेत एन्टिजेन विधिबाट कोरोनाको परिक्षण गर्ने गरिएको भीमदत्त नगरपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख, जनस्वास्थ्य निरीक्षक नरेन्द्रराज जोशीले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.