मौलिक तथा सांस्कृतिक गीत संगीत विधामा एकजना स्रष्टालाई सम्मान गरिने

 थारू लेखक संघ नेपाल धनगढी कैलालीले ‘थारू साहित्य पुरस्कार २०७८’ देखि मौलिक तथा सांस्कृतिक गीत संगीत विधामा एकजना स्रष्टालाई सम्मान गर्ने भएको छ । थारू लेखक संघ नेपाले कार्यसमितिको बैठकबाट यही फागुन ११ र १२ गते कञ्चनपुरमा हुने छैठौं राष्ट्रिय थारू साहित्य सम्मेलनमा मौलिक तथा सांस्कृतिक गीत संगीत विधामा स्रष्टालाई सम्मान गरिने जनाएको हो । संघका अध्यक्ष सीताराम चौधरी थारुले साहित्य, संस्कृति तथा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइयका स्रष्टालाई सम्मान गरिने बताउनु भयो ।

 थारु लेखक संघबाट स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद १५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र सहित सम्मान गरिने जनाएको छ । यसका लागी थारु लेखक संघबाट पुरस्कारका लागी इच्छुक कृतिकारलाई यही माघ २९ गते भित्र आफ्नो गायन, लेखन तथा संकलन गरेको सम्पूर्ण मौलिक तथा सांस्कृतिक गीत संगीतको अडियो तथा भिडियोको प्रतिलिपि सहित मनोनय दर्ताका लागी अनुरोध गरेको छ । संघबाट जारी गरिएको सूचनामा मौलिक तथा सांस्कृतिक गीत संगीतमा अब्बल, क्षमतावान, योग्य स्रष्टालाई प्राथमिकता दिने, स्रष्टा थारु समुदायमा लोकप्रिय एवं स्वच्छ छवि भएका, देश तथा विदेशमा रहेका थारु भाषाको मौलिक तथा सांस्कृतिक गीत संगीतका स्रष्टालाई मात्र समावेश गरिने लगायतका मनोनयन दर्ताको मापदण्ड पनि निर्धारण गरेको बताइएको छ ।

 यसैगरी विवादित कृतिलाई मूल्यांकन प्रक्रियामा समावेश नगरिने, समयावधिभित्र दर्ता भएका स्रष्टालाई मात्र मूल्यांकन प्रक्रियामा समावेश गराएर सर्वोत्कृष्ट एक जना स्रष्टालाई मात्र नगद पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिने थारु लेखक संघ कैलालीका अध्यक्ष सीताराम चौधरी थारुले बताउनु भयो । थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाएर थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पु¥याएका लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धानकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले थारु लेखक संघले २ लाख २५ हजार रुपैयाको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको कम्तीमा २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एक जना स्रष्टालाई सम्मान गरिने थारु लेखक संघ कैलालीका अध्यक्ष सीताराम चौधरी थारुले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.