सुदूरपश्चिम प्रदेशमा आज देखि साउनको महिना अर्थात बत्ती बाल्ने महिना सुरु भएको छ । सुदुरपश्चिम प्रदेशमा साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ समेत भन्ने गरिन्छ ।
साउने संक्रान्ति देखि बैतडी सहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रूपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ । साउनको महिना देवी देवता वैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यो महिनालाई कालो महिना भन्ने गरिएको हो । शयन गरेका वेला बत्ती बालेपछि देवी देवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास छ ।
साउन महिना सुरु भएदेखि भक्तजनले बिहानै उठेर नुहाइ धुवाई गरी एक महिना सम्म व्रत बसी देवी देवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अनजानमा गरिएका पाप नष्ट हुने विश्वास छ । सुदुरपश्चिम प्रदेशमा रहेका विभिन्न धार्मिक स्थलहरुमा यो महिनाभर पुजाआजा गर्नेहरुको घुईचो लाग्ने गरेको छ ।
यस्तै बैतडी जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीले दर्शन गर्न गर्दछन् ।
श्रावण महिनाभर मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ । जिल्ला बाट बसाइँ सरेकाहरू पनि मन्दिरमा पूजापाठ गर्न यो महिना जिल्ला भित्रिने गर्दछन् ।
शुक्लाफाँटा खबर
6803 posts
Comments are closed.