परम्परा संगै कला, संस्कृतिको संरक्षण गरौ भन्ने मुल नाराका साथ कैलालीको धनगढी उपमहानगरपालिका – ५, जँई गाउमा शनिबार हरेरी महोत्सवको उदघाटन भएको छ । जाई गाउका बडघर भलमन्सा कुलविर चौधरीको सभापतित्वमा र धनगढी उपमहानगरपालिकाका उप मेयर कन्दकला रानाको प्रमुख आतिथ्यमा हरेरी महोत्सव उदघाटन कार्यक्रम भएको छ ।
हरेरी महोत्सव शनिबार देखि सावन ३१ गते सम्मको लागि आयोजना गरिएको हो । समितिका संयोजक तथा जँई गाउका बडघर भल्मन्सा कुलवीर चौधरीले महोत्सव तयारी पुरा भएको र शनिबार देखि विधिवत रुपमा संचालन भइरहेको बताउनु भएको छ । चार दिन सम्म मनाउने महोत्सवमा थारु समुदायको कला परम्परा बारे बहस हुने साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीले बताउनु भयो ।
हरेरी महोत्सवमा संस्कृतिक बहस संगै थारु समुदायको लोपोन्मुख मुङ्ग्रहवा नँच, लाठी नँच, झुम्रा नँच, सखिया नँच, एकल नँच, बर्कीमार, आधुनिक नँच, सामूहिक डान्स, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, सजना, मैना गीता प्रस्तुत, हास्य कार्यक्रम प्रस्तुत हुने आयोजकले जनाएको छ । त्यसैबिच महोत्सव अवलोकन गर्न आउने पाहुनाहरुलाई थारु परिकार ढिक्री, अन्डिको भात, खुर्मा, बरिया, अन्डिको रोटी, गगटाको परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।