नागरिक उन्मुक्ति पार्टीको कैलाली क्षेत्र नं.१ मा बलियो पकड

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा कैलालीको क्षेत्र नम्बर १ को अवस्था बारे सबैमा चासो बढेको छ । २०७४ सालको निर्वाचनमा यस क्षेत्र बाट निर्वाचित रेशम चौधरी जेलमै रहेका कारण यो क्षेत्र जनप्रतिनिधि विहीन जस्तै भएको छ । आसन्न निर्वाचनमा यस क्षेत्र बाट चौधरीकै पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिने चर्चा चलि रहेको छ ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम अनुसार यो क्षेत्रमा रेशम चौधरीकै दल नागरिक उन्मुक्ति पार्टीको बलियो पकड रहेको पाइएको छ । त्यसैले प्रतिनिधिसभा निर्वाचनमा चौधरीकी धर्मपत्नी रंजिता श्रेष्ठ चौधरीको उम्मेदवारी सत्तारुढ गठबन्धन तथा नेकपा एमालेका लागि पनि चुनौतीको विषय बनेको छ । स्थानीय तह निर्वाचनमा जानकी गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष, टीकापुर नगरपालिकाको प्रमुख, जोशीपुर गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष, भजनी नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्लामा जबर्जस्त उपस्थिति जनाइ सकेको छ ।

स्थानीय तह निर्वाचनमा यो पार्टीले जितेको मध्ये अधिकांश वडा कैलालीको क्षेत्र नम्बर १ मै पर्दछन् । त्यसैले पनि प्रमुख राजनीतिक दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले आसन्न निर्वाचनमा ठुलो चुनौती दिन सक्ने राजनितिज्ञहरुले बताएका छन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन राजपा पार्टी बाट उम्मेदवार बनेका रेशम चौधरीले ३४ हजार ३४१ मत ल्यायर विजयी भएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.