सुशासन, समृद्धि र सद्भावको लागि कैलालीको टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सांसद् रेशम चौधरी सहित सम्पूर्ण राजबन्दीलाई रिहा गर्नुपर्ने माग गरिएको छ । २०७२ भदौ ७ गते टीकापुरमा घटना भएको दिनलाई विद्रोह दिवसको रुपमा मनाउन मंगलबार टीकापुरमा आयोजित छुट्टा–छुट्टै समारोहका वक्ताहरूले राजनीतिक दलहरुले घटनालाई राजनीतिक घटना भने पनि निर्णय गर्न नसकेको बताएका हुन् ।
उनीहरुले थारु समुदायले राजनीतिक माग राखि गरेको आन्दोलनमा भएको घटनालाई लिएर आन्दोलनमा संलग्न निर्दोष व्यक्तिलाई जेल सजाय गरेको प्रति विरोध जनाएका छन् । २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रेशम चौधरी विजयी भएपनि पाच वर्षदेखि कैलालीको निर्वाचन क्षेत्र नं.१ संघीय जनप्रतिनिधि विहीन भएको छ ।
थरुहट÷थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभा लगायतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका मेयर एवं नागरिक उन्मुक्तिका नेता रामलाल डंगौरा थारुले विकास, समृद्धि र सदभावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरुलाई तत्काल रिहा गरिनु पर्ने बताउनु भयो । आसन्न निर्वाचन अगाडि नै जेलबन्दीहरुलाई रिहा गरी सामाजिक सद्भावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने समेत मेयर थारुको माग थियो ।
कैलालीका सबै स्थानीय तहहरुले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरि सकेकाले सो घटनाका अभियोग लागेका व्यक्तिहरुको रिहाइ गर्न पहल गर्नुपर्ने लम्की चुहा नगरपालिकाकी मेयर सुशीला शाहीले बताउनु भयो । थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने बताउनु भयो । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिदा थारु लगायत उत्पीडित समुदाय माथि अन्याय भएको उनको भनाइ थियो ।
नागरिक उन्मुक्ति पार्टीले आयोजित कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका मेयर केवल चौधरीले अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घट्न पुगेको बताउदै यहँको विकासको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्नु भयो । थरुहट नेता लक्ष्मण थारुले हालसम्म राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनको रुपमा लिएको बताउदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गर्नु भयो ।
२०७२ मा संविधान लेखनको क्रममा यहँ परस्पर विरोधी थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन उत्कर्षमा थियो । यसैबीच भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडप हुदा एक नाबालक सहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो । त्यसको भोलिपल्ट भदौ ८ गते प्रशासनले करफ्यु जारीकै समयमा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफ एममा आगजनी गरिएको थियो । सोही भदौ ७ गतेको घटना अभियोगमा रेशम चौधरी लगायत ५२ जना माथि मुद्दा लगाइएको हो ।
Comments are closed.