निर्वाचन कार्यालय कञ्चनपुरले मतदाता नामावली दावी विरोध कार्यक्रम गर्ने

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत ) कार्यक्रम गर्ने भएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालयमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै उक्त विषयमा छलफल गरिएको छ । भाद्र १२ गते देखी १९ गते सम्म मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत ) कार्यक्रम संचालन हुने भएको हो ।
मतदातामा नामावलीमा कुनै त्रुटी सच्चाउने, मतदाता नामावलीमा कसैले झुठा विवरण दिई नामावलमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, मतदाताको नामावली एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्रै कायम गर्ने, मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम नामावली बाट हटाउने, बसाई सराई गरी अन्यत्र गएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाताको विवरण पञ्जिकाधीकारी बाट प्रप्त गर्ने लगायतको काम गरिने जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताउनु भयो ।

यसैगरी, उजुरी परेका मतदातालाई प्रमाण सहित सफाईको मौका दिने, बसार्य सराई सरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको हकमा जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्ने, नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावली बाट हटाउने सम्बन्धमा आवस्यक छानबिन गरी प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्ने कार्य रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कञ्चनपुरमा ९ हजारभन्दा बढी मतदाता पनि थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहको निर्वाचनपछि संकलित मतदाता नामावलीअनुसार ९ हजार ८ सय २८ मतदाता थपिएका हुन् । निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचन पश्चात् जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गरेको थियो  । ४ हजार ८ सय ६२ पुरुष र ४ हजार ९ सय ६६ महिलाको मतदाता नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए  ।

स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा १ लाख ४३ हजार ३ सय ४१ पुरुष, १ लाख ५२ हजार १२ महिला र १ तेस्रो लिंगीगरी २ लाख ९५ हजार ३ सय ५४ मतदाता रहेका थिए । २ गाउँपालिका र ७ नगरपालिका रहेको कञ्चनपुरमा स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय ३२ मतदान स्थल र ३ सय ४१ मतदान केन्द्र निर्धारण गरिएको थियो  । २०७४ को निर्वाचनमा २ लाख ३५ हजार ७ सय ३५ मतदाता थिए ।

सम्बन्धित

Comments are closed.