बेलडाडी बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानी गर्दै

कञ्चनपुरको बेलडाडी गाउपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल तरकारी फलाएर १२ लाख पचास हजार आम्दानी हात पारेका थिए । काउली, बन्दा, गोलभेडा, घ्यू सिमी, बोडी लगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए ।

‘बेमौसमी वर्षाले १० कठ्ठामा लगाएको तरकारी टिप्नै पाएनौं, उनले भने, ‘हार मानिन्, त्यसपछि पुनः तरकारी लगाए नाफा बढी भयो, तरकारी हातोहात बिक्री पनि भयो ।’ गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उनले नौलो प्रविधिलाई आत्मसात गर्ने योजना बनाएका छन् । उनले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलो संगै आवश्यक अन्य औजार निर्माण गरेका छन् । तरकारी खेती गर्नका लागि प्रयोगमा आउने अन्य औजार र उपकरण प्रयोगमा ल्याउने तयारी उनको रहेको छ ।

‘पहिला गोरुले खेत जोत्दा समय निकै लाग्ने र सोचे जस्तो खेत तयार गर्न सकिदैनथ्यो’, उनले भने, ‘हाल खेत जोत्नका लागि गोरु छैनन्, मिनी टिलर र पावर टिलरको प्रयोग गर्छु, तरकारी खेतीका लागि खेत तयार गर्न मेसिनरी र आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ ।’ तरकारी बारीमा गोबर मलको प्रयोग गर्नका लागि भैसी भने उनले पालेका छन् । डेढ दशक देखि तरकारी खेतीमा संलग्न चौधरी संग स्वामित्वको एक बिघा १० कठ्ठा जग्गा छ । त्यस मध्ये छ कठ्ठा जग्गा उनले तरकारी खेतीको आम्दानीले जोडेका हुन् ।

यस वर्षको हिउदे तरकारी लगाउनका लागि चौधरीले बेर्ना तयार गरि सकेका छन् । ‘काउली, बन्दा, गोलभेडा लगायतका तरकारीका बेर्ना तयारी अवस्थामा छ’, उनले भने, ‘ग्रिननेटमा लगाउनका लागि कार्य अगाडि बढाइएको छ, खुला ठाउमा गरिने तरकारी खेतीभन्दा ग्रिनेनेटमा गरिने तरकारी खेतीले बढी उत्पादन दिन्छ, त्यसैले यसकै तयारीमा छौ ।’ तरकारी खेती बाहेक अरु जग्गामा लगाएको हर्दिनाथ जातको धान पाक्नै आटेको छ ।

एक दुई दिनमा धान काटन सुरु गर्ने चौधरीले बताए । ‘धान काटेपछि खेत तयार गरी त्यसमा समेत तरकारीका बिरुवा रोप्छौँ’, उनले भने, ‘कामको व्यस्तता निकै छ, परिवारमा रहेका दुई छोरा र श्रीमतीले समेत तरकारी खेतीका लागि सहयोग गर्दै आएका छन्, त्यसैले काम गर्न सहज भएको छ ।’ नौ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ धानको उत्पादन २० क्वीन्टल बढी हुने उनले अनुमान गरेका छन् । गतवर्ष सोही जग्गामा उनले १८ क्वीन्टल धान उत्पादन गरेका थिए ।

सम्बन्धित

Comments are closed.