कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक आयोजनाको काम अधुरै

कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक आयोजनाको निर्माणमा २ अर्ब खर्च भइसक्दा पनि निर्माणले पूर्णता पाउन सकेको छैन । कूल ४ अर्ब लगानी अनुमान गरिएको उक्त सडक योजना निर्माणमा अहिले सम्म २ अर्ब खर्च भइसकेको छ ।

तर सडक र पुल निर्माणको काम भने अधुरै छ । आयोजना कार्यालयको लापरवाहीका कारण समयमा सडक र पुल निर्माणले पूर्णता पाउन नसकेको बताइएको छ । भारत सरकारको सहयोगमा सुरु गरिएको कैलाली कञ्चनपुरको हुलाकी सडक निर्माण २०७३ देखि नेपाल सरकार एक्लैले निर्माण गर्दै आएको छ । भारतले सडक र नेपालले पुल मात्र निर्माण गर्ने गरी सम्झौता गरिएको भएपनि हाल नेपाल सरकार एक्लैले सडक र पुल निर्माणको काम गर्दै आएको हो ।

कञ्चनपुरमा कूल ६२ किलोमिटर मध्ये २८ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । कञ्चनपुरमा पुल निर्माणको काम बाहेक सडकको काम चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर एवं सूचना अधिकारी पदम मडैले बताए । यता कैलालीको कटनी देखि कान्द्रा सम्मको १८ किलोमिटर सडक मध्ये १७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने, एक किलोमिटर कटानका कारण अधुरै छ ।

कटनी देखि कान्द्रा सम्मको जंगलमा पर्ने बसन्ता जैविक मार्गको दुई किलोमिटर सडक पनि कालोपत्रे भइसकेको छ । बसन्ता वन क्षेत्र नेपाल र भारतका वन्यजन्तुको ओहोर दोहोर गर्ने जैविक मार्ग हो । त्यस्तै क्याम्पस चोक देखि मोहना पुल वाइपास रोड ७ किलोमिटरको काम पनि सम्पन्न भएको छ । पुरानो ठेक्का अन्तर्गतका सबै सडकको काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

सम्बन्धित

Comments are closed.